मुसादेखि हात्ती हुँदै फेरि मुसासम्म : हामी किन उही प्रश्नको पर्खाइमा छौँ ?

शुक्रबार, २२ साउन २०८३

प्रेम रावतको द किङ्स डेजर्ट्स कथा पढ्दै गर्दा लाग्छ, लेखकले कुनै काल्पनिक दरबारको कथा होइन, बरु नेपालको राजनीतिको एउटा सूक्ष्म भविष्यवाणी नै लेखेका रहेछन्। कथामा राजा हरेक साँझ मिठाई खान्छन्, त्यसको सुगन्धले मुसा आउँछन्, मुसा हटाउन बिरालो ल्याइन्छ, बिरालोको आतंक हटाउन कुकुर, कुकुरलाई नियन्त्रण गर्न बाघ र बाघलाई वशमा राख्न हात्ती। तर अन्त्यमा यति धेरै समाधान पछि पनि दरबार फेरि मुसाकै समस्यामा फर्किन्छ। किनभने कसैले राजालाई सोधेन-महाराज, यो मिठाईको रहर कहिले सकिन्छ ? यो एउटै नसोधिएको प्रश्नले सम्पूर्ण कथाको निष्कर्ष बदलिदिन्छ, र नेपालको राजनीतिले पनि यही नाटक दशकौंदेखि दोहोर्याइरहेको छ।

हामीले राणा शासनलाई एउटा मुसाको रूपमा लिन सकिन्छ। जसले दरबारका कुनाकाप्चाहरूमा आफ्नो कब्जा जमाएको थियो। त्यसलाई हटाउन २००७ सालको प्रजातन्त्र अर्थात् बिरालो आयो। जनताले ठूलो आशाका साथ स्वागत गरे-अब मुसाको समस्या सकियो भन्ने सोचे। तर केही वर्ष नबित्दै बिरालोले आफ्नै नङ देखाउन थाल्यो, अराजकता र अस्थिरता बढ्यो। त्यसपछि आयो कुकुर-पञ्चायती व्यवस्था, जसले अनुशासन र स्थिरताको वाचा गर्यो। तर कुकुरले मुसामात्र होइन, जनताको बोली र स्वतन्त्रता पनि लखेट्न थाल्यो। २०४६ सालको जनआन्दोलनले बाघ ल्यायो-बहुदलीय लोकतन्त्र, जो शक्तिशाली थियो, जसको गर्जनले जनतालाई नयाँ आशा दियो। तर बाघ पनि जंगलभन्दा दरबारतिर बढी रमाउन थाल्यो, र सत्ताको खेल जारी रह्यो।

त्यसपछि आयो ऐतिहासिक परिवर्तन-गणतन्त्र, नयाँ संविधान र संघीयता। यो त अब हात्ती नै थियो, जो विशाल, शक्तिशाली र अभूतपूर्व थियो। भनियो-अब विकास गाउँ–गाउँ पुग्छ, सत्ता जनताको घरदैलोमा आउँछ। तर हात्ती जति ठूलो भयो, उसको पालनपोषणको खर्च पनि त्यति नै ठूलो भयो। संरचना थपिए, तह थपिए, पद र कार्यालयहरू थपिए, र खर्च पनि त्यसैगरी बढ्यो। जनताले सोध्न थाले-हात्तीको आकार बढेको हो कि राज्यको क्षमता ? सुशासन बढेको हो कि प्रशासनिक जटिलता ? नागरिकको सेवा सहज भएको हो कि नोकरशाही झन् बोझिलो ? यी प्रश्नहरू आज पनि उत्तिकै सान्दर्भिक छन्।

यही निराशाको गर्भबाट जन्मियो जेन–जी आन्दोलन, जहाँ युवाहरू सडकमा आए र एउटा गम्भीर प्रश्न उठाए-हामीलाई मुसा, बिरालो, कुकुर, बाघ वा हात्तीमध्ये कसैको पूजा गर्नु छैन, हामीलाई राम्रो शासन चाहिएको हो। त्यही आन्दोलनले नयाँ आशा जन्मायो, र वर्तमान सरकार त्यही आशाको वातावरणमा स्थापित भयो। जनताले सोचे-अब त कथा बदलिन्छ, अब राजालाई मिठाई खान कसैले रोक्ला। तर केही समय नबित्दै नागरिकहरू फेरि कान सुम्सुम्याउन थाले-कतिपय निर्णय हतारमा भएजस्ता देखिए, कतिपय घोषणा कार्यान्वयनभन्दा अगाडि दौडिए। उहीँ नाताबाद ,कृपाबाद ,सन्थागत भ्रष्टाचार जस्ता पुराना रोगका नयाँ संस्करणहरू देखिन थाले।

त्यसपछि धेरै नेपालीको मनमा एउटा व्यङ्ग्यपूर्ण प्रश्न जन्मियो-के हामीले यत्रो यात्रा गरेर अन्ततः फेरि मुसामै फर्कियौं ? फरक यति मात्र छ-पहिलेका मुसा पुराना थिए, अहिलेका मुसा नयाँ छन्। पहिले मुसा दरबारका कुनामा थिए, अहिले उनीहरू कहिलेकाहीँ प्रणालीका प्वालभित्र लुकेका देखिन्छन्। अनुहार फेरिएका छन्, तर जनताका प्रश्न उस्तै छन्। हामीले मुसा हटाउन बिरालो ल्यायौं, बिरालो हटाउन कुकुर, कुकुर हटाउन बाघ, बाघ हटाउन हात्ती, र अन्त्यमा फेरि मुसाकै समस्या लिएर बसेका छौं। सायद गल्ती मुसामा थिएन, बिरालो, कुकुर, बाघ वा हात्तीमा पनि थिएन। गल्ती त्यो दरबारमा थियो, जहाँ हरेक साँझ राजाको मिठाई बनिरहन्थ्यो।

नेपालको राजनीतिमा समस्या केवल व्यवस्था परिवर्तनमा होइन, समस्या सत्ताको संस्कृतिमा छ। जबसम्म सत्ता सेवाभन्दा विशेषाधिकारको माध्यम रहन्छ, जबसम्म संस्था व्यक्तिभन्दा कमजोर रहन्छन्, जबसम्म नीति राष्ट्रहितभन्दा दलगत स्वार्थले निर्देशित हुन्छ, तबसम्म नयाँ जनआन्दोलनले नयाँ सरकार जन्माउला, तर नयाँ राजनीतिक संस्कृति जन्माउनेछ भन्ने ग्यारेन्टी हुँदैन। हामीले प्रणालीको स्वरूप परिवर्तन गर्न पटक–पटक प्रयास गर्यौं, तर शक्ति सञ्चालनको तरिका र अभ्यास परिवर्तन गर्न बिर्सियौं। जबसम्म हामी शक्तिलाई विशेषाधिकारको रूपमा हेर्छौं, उत्तरदायित्वको रूपमा होइन, तबसम्म हरेक नयाँ प्रणाली पुरानै समस्यामा फस्नेछ।

आजको आवश्यकता अर्को बिरालो, अर्को कुकुर, अर्को बाघ वा अर्को हात्ती होइन। आवश्यकता त एउटै छ-राजालाई हरेक साँझ मिठाई किन चाहिन्छ भन्ने प्रश्न सोध्ने साहस। किनभने त्यो प्रश्नको उत्तर नखोजेसम्म नेपालले फेरि अर्को मुसा देख्नेछ, फेरि अर्को बिरालो खोज्नेछ, फेरि अर्को हात्ती पाल्नेछ। साँचो परिवर्तन संरचना मात्र होइन, सोच र संस्कृतिको परिवर्तन हो। यसका लागि संस्थागत सुदृढीकरण, विकेन्द्रीकरण, पारदर्शिता र नागरिक सहभागिता अनिवार्य छन्। तर यी सबैभन्दा पहिले चाहिन्छ-प्रश्न सोध्ने साहस, शक्तिलाई चुनौती दिने हिम्मत, र मिठाईको लालसा त्याग्न राजालाई बाध्य पार्ने सामूहिक दबाब।

नेपालले आठ दशकदेखि यही चक्र दोहोर्याइरहेको छ। हामीले मुसाको समस्या समाधान गर्ने नाममा बिरालो, कुकुर, बाघ र हात्तीको प्रयोग गर्यौं, तर कुनै पनि समाधान दिगो भएन। किनभने हामीले कहिल्यै मूल कारणलाई सम्बोधन गरेनौं-त्यो अनियन्त्रित शक्तिको मिठाई, जसले नयाँ–नयाँ समस्या जन्माइरहन्छ। अब समय आएको छ-हामी प्रश्न सोधौं, संस्था निर्माण गरौं, र शक्तिलाई उत्तरदायी बनाऔं। अन्यथा इतिहासले फेरि मुस्कुराउँदै लेख्नेछ-देश बदलियो, व्यवस्था बदलियो, सरकार बदलियो तर कथाको अन्त्य भने बदलिएन।

त्यसैले युवा पुस्ता, नागरिक समाज, सञ्चारमाध्यम र जागरूक नागरिक-सबैले अब सोध्नुपर्छ, हामी किन बारम्बार उही गल्ती दोहोर्याउँछौं ? किन नयाँ प्रणालीले पुरानै परिणाम दिन्छ ? किन शक्ति सधैं केन्द्रित रहन्छ, विकेन्द्रीकृत हुँदैन ? यी प्रश्नहरूको जवाफ नभेटेसम्म नेपालको राजनीति रावतको कथाजस्तै रहनेछ-सुन्दर, बौद्धिक तर अनुत्तरित प्रश्नले भरिएको, र अन्त्यमा मुसा नै पर्खिरहेको हुनेछ।