अर्थमन्त्री वाग्ले भारत हानिए
काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले बिहीबार बिहान भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७स्३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।तीनदिने भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसहित नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक विषयमा सहकार्यका विभिन्न आयामबारे छलफल हुने उनको सचिवालयले जनाएको छ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्किने कार्यतालिका रहेको छ। सचिवालयका अनुसार वाग्लेले आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी हुनेछन्।
शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ताको कार्यक्रम छ। सोही दिन भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन्।
शनिबार बिहान ९:३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि जानेछन्।