अन्तर्राष्ट्रिय ‘स्क्यामर’को फन्दामा नेपाली विद्यार्थी, धरापमा हजारौ विद्यार्थीको भिसा
काठमाडौं – कीर्तिपुरका सागर श्रेष्ठ (नाम परिवर्तन) ले बेलायतको इस्टलण्डन विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिए । कीर्तिपुरको नयाँ बजारमा पनि शाखा रहेको बागबजारको एक शैक्षिक कन्सल्टेन्सीमार्फत उनले विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएका थिए । उनको केही दिनमै अफर लेटर आयो, एनओसी बनाए, विश्वविद्यालयमा ट्युसन फि डिपोजिट गरे । विश्वविद्यालयले कास जारी गर्यो । भिसा लजमेन्टको समयमा कन्सल्टेन्सीले सागरलाई एउटा अफर दियो । सोही अफरमा सागर पनि लोभिए ।
सागरलाई कन्सल्टेन्सीले दिएको अफर थियो, ‘क्रेडिट कार्डबाट भिसा फि र अध्यागमन स्वास्थ्य अतिरिक्त शुल्क (IHS) तिरिदिने । बैकिङ च्यानलबाट तिर्ने रकमभन्दा २ लाख सस्तो पर्छ र छिटो पनि हुन्छ । तिमी चाहन्छौं भने म तिमीलाई सहयोग गर्न सक्छु ।’ सागर पनि दुई लाख बचत हुने भएपछि लोभिए । भिसा फि र IHS कन्सल्टेन्सीलाई तिर्न लगाएर भिसा एप्लाई गरे । भिसा लागेपछि मेको पहिलो हप्ता बेलायत पुगिसकेका छन् ।
बेलायत पुगेपछि उनले उनका साथीबाट आफू स्क्याममा परेको जानकारी पाए । सोही कारण अहिले उनी तनावमा छन् । भिसा रद्द हुने, डिपोर्ट हुनसक्ने वा पक्राउ पर्ने डरले उनी नत राम्रोसँग पढ्न सकेका छन्, नत उनलाई राम्रोसँग काम गर्ने जाँगर चलेको छ ।
सागर त एउटा प्रतिनिधि पात्रमात्रै हुन् । नेपालबाट हजारौं विद्यार्थी विदेशीहरुको स्क्याममा परेका छन् । नेपालका शैक्षिक कन्सल्टेन्सीहरु पनि विदेशी स्क्यामरहरुको लोभमा परेर यो धन्दा चलाइरहेका छन् । पाकिस्तानी ह्याकरहरुको समूहले अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत देशका क्रेडिट काडहरु ह्याक गरेर नेपाली कन्सल्टेन्सीमार्फत विभिन्न खालका सेवाहरु किनीरहेका छन् ।
कसरी हुन्छ यस्तो स्क्याम
यो धन्दाको सुरुआत सामान्यतः बजार मूल्यभन्दा अस्वाभाविक रूपमा सस्तो भुक्तानीको प्रस्तावबाट हुन्छ । शैक्षिक कन्सल्टेन्सीले विदेशमा रहेको ‘पेमेंट पार्टनर’ सँग सस्तो कार्ड वा विशेष दर भएको दाबी गर्छन् । विद्यार्थीबाट नेपाली रुपैयाँ असुलिन्छ, तर बेलायत सरकारको वेबसाइटमा भिसा शुल्क र IHS तिर्न अर्कै व्यक्तिको क्रेडिट वा डेबिट कार्ड प्रयोग हुन्छ ।
ह्याकरहरुको समूहले ह्याक गरेका कार्ड प्रयोग हुने भएकाले वास्तविक कार्डधनीको स्वीकृतिबिना प्रयोग गरिएको हुन्छ । कार्डधनीले थाहा नपाउँदासम्म उक्त कारोबार सुरक्षित हुन्छ । तर कार्डधनीले अनधिकृत कारोबार भएको जानकारी दिदै बैंकमा उजुरी गरेपछि रकम फिर्ता तान्न ‘चार्जब्याक’ प्रक्रिया सुरु हुन सक्छ । त्यसपछि कार्ड जारी गर्ने बैंक, कार्ड नेटवर्क, भुक्तानी सेवा प्रदायक र शुल्क प्राप्त गर्ने निकायले कारोबारको स्रोत तथा सम्बन्धित आवेदन जाँच्न सक्छन् ।
यसरी स्क्यामरले विद्यार्थीबाट लिएको रकम आफूसँग राख्छ, चोरी वा दुरुपयोग गरिएको कार्डबाट सरकारी शुल्क तिर्छ र भुक्तानी स्वीकार भएको स्क्रिनसट वा रसिद देखाएर काम सकिएको भ्रम दिन्छ । केही समयपछि वास्तविक कार्डधनीले कारोबार अस्वीकार गर्दा समस्या देखिन सक्छ । यही कारण भिसा स्वीकृत भएर विद्यार्थी बेलायत पुगिसकेपछि पनि भिसा रद्द हुने, पुनः पैसा तिर्नुपर्ने वा पक्राउ पर्ने जोखिम हुन्छ ।
दुई लाख सस्तो कसरी सम्भव हुन्छ ?
बेलायती सरकारले तोकेको भिसा शुल्क र आईएचएस व्यक्तिअनुसार घटबढ गरिने मोलमोलाइको रकम होइन । विद्यार्थी भिसाका लागि बाहिरबाट आवेदन गर्दा हाल आवेदन शुल्क ५५८ पाउन्ड रहेको छ भने विद्यार्थी र तिनका आश्रितका लागि आईएचएस प्रतिवर्ष ७७६ पाउन्ड तोकिएको छ । भिसा आवेदन शुल्क १ पटक तिरे पुग्छ भने आईएचएस फि विद्यार्थी बेलायतमा बस्ने पुरा अवधिको तिर्नुपर्छ । मानौं एउटा विद्यार्थीले ३ वर्षे कोर्षका लागि भिसा एप्लाई गरेको हो भने तीन वर्षकै आईएचएस रकम ७७६ को ३ गुणा अर्थात २ हजार ३ सय २८ पाउण्ड तिर्नुपर्छ । यसमा भिसा फि ५५८ जोड्दा २ हजार ८ सय ८६ पाउण्ड विद्यार्थीले बैंकिङ च्यानलमार्फत तिनुपर्ने हुन्छ ।
उक्त रकम तिर्दा विद्यार्थीलाई झण्डै ६ लाख नेपाली रुपैयाँ पर्न आउँछ । तर कन्सल्टेन्सीले विदेश स्क्यामरको प्रलोभनमा परेर ४ लाखमै काम फत्ते गरिदिने आश्वास दिँदा विद्यार्थीले मख्य पर्दै कन्सल्टेन्सीमा क्यास बुझाउने गरेका छन् ।
विद्यार्थीले सरकारी शुल्कमै दुई लाख रुपैयाँ छुट दिने प्रस्तावको वैध आर्थिक आधार के हो भन्ने प्रश्न गदैनन् । तर यति ठूलो छुटमा चोरीको कार्ड, अनधिकृत कार्ड प्रयोग, शंकास्पद विनिमय कारोबार वा अर्को व्यक्तिको रकम दुरुपयोग भएको हुन्छ ।
विद्यार्थीलाई हुन सक्ने बेफाइदा
केही वर्षअघि यसैगरी स्वास्थ्य बीमाको रकम ह्याक गरिएका कार्डबाट तिर्दा अस्ट्रेलियामा अध्ययनरत हजारौं नेपाली विद्यार्थीहरु समस्यामा परेका थिए । विद्यार्थीको दवावपछि नेपालका केही कन्सल्टेन्सीले करोडौं रकम तिर्नु परेको थियो ।
त्यतिबेला प्राइभेट इस्योरेन्स कम्पनीको बीमा पोलिसी किनेकाले विद्यार्थीलाई पैसा फिर्ता गर्न नेपालका कन्सल्टेन्सीलाई सजिलो भएको थियो । तर युकेको सवालमा विल्कुल फरक छ । यो रकम सरकारी खातामा जम्मा भएकाले ‘चार्जब्याक’ हुने सम्भावना अत्यान्तै कम छ ।
यदी ‘चार्जब्याक’ भयो भन विदार्थीले भिसा वा आईएचएस शुल्क पुनः तिर्नुपर्ने गरी आर्थिक भार पर्न सक्छ, UKVI, बैंक वा प्रहरीबाट कारोबारबारे स्पष्टीकरण र प्रमाण मागिनसक्छ, आवेदनमा छलकपट वा गलत विवरण जोडिएको ठहर भए भिसा अस्वीकार वा अनुमति रद्द हुन सक्छ, कुनै आपराधिक संलग्नता प्रमाणित भए अनुसन्धान, पक्राउ वा अभियोजनको जोखिम हुन सक्छ, अध्ययन, रोजगारी, विश्वविद्यालयमा उपस्थिति र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, भविष्यका बेलायती वा अन्य देशका भिसा आवेदनमा उक्त घटना खुलाउनुपर्ने अवस्था आउन सक्ने सम्भावना बढी हुन्छ ।
पीडित वा शंकामा परेका विद्यार्थीले कन्सल्टेन्सीलाई थप पैसा दिनु हुँदैन, कुनै प्रमाण नमेटाउने, भिसा आवेदन, IHS reference number, सरकारी रसिद, कन्सल्टेन्सीको बिल, बैंक भौचर, च्याट, इमेल, कल रेकर्ड र रकम बुझाएको प्रमाण सुरक्षित राख्नुपर्ने इमिग्रेण्ट एजेण्टले बताएका छन् ।
बेलायतको काम गरिरहेका एक शैक्षिक कन्सल्टेन्सी संचालकका अनुसार कुन कार्डबाट रकम तिरिएको हो, कार्डधनी को हो र लिखित स्वीकृति थियो कि थिएन भन्ने जानकारी कन्सल्टेन्सीसँग लिखित रूपमा माग्ने, आफ्नो अवस्थाबारे UKVI को आधिकारिक सम्पर्क सेवामार्फत जानकारी गराउन, बेलायतमा भए नियमनमा रहेको अध्यागमन सल्लाहकार वा सोलिसिटरबाट केसअनुसार कानुनी सल्लाह लिने, ठगी वा कार्ड अपराधको आशंका भए बेलायतको Report Fraud, प्रहरी तथा नेपाल प्रहरीको साइबर ब्युरो वा सम्बन्धित निकायमा प्रमाणसहित उजुरी दिने, विश्वविद्यालयको international student support वा compliance team लाई गोप्य रूपमा जानकारी दिएर सहयोग माग्नुपर्छ ।
नेपालमा कसले चलाएको छ यस्तो धन्दा ?
नेपालमा एक पाकिस्तानी नागरिकले ह्वास्टएपमार्फत शैक्षिक कन्सल्टेन्सीलाई सम्पर्क गर्दै २० देखि २७ प्रतिशतसम्मको कमिसनको अफर दिइरहेका छन् । उनीहरुले बेलायतमा चार्जब्याकको समस्यामा नरहेको बताउँदै जोखिम रहित कारावारको विश्वास दिलाएका छन् ।
यसरी नेपालका कन्सल्टेन्सीमार्फत कारोबार गराउनेमा अलि डोगर रहेका छन् । उनले ह्वाट्सएप नम्बर +४४७४००७०६७३९ बाट म्यासेज गर्दै नेपालका शैक्षिक परामर्श व्यवसायीलाई लोभ्याएर धन्दा चलाइहेका छन् ।
उनले कन्सल्टेन्सीलाई फकाउन ‘विद्यार्थी भिसा परामर्शदाताहरूका लागि विशेष भुक्तानी साझेदारी’ शीर्षकमा विज्ञापन गरिरहेका छन् । विज्ञापनमा उनले बेलायत, अष्ट्रेलिया, क्यानडा वा न्युजिल्यान्डका लागि विद्यार्थी भिसा आवेदनहरूको प्रक्रिया अघि बढाउन अग्रिम भुक्तानी आवश्यक नपर्ने, परामर्शदाताहरूका लागि विशेष छुट, प्रतिस्पर्धी विनिमय दर, १००% सुरक्षित प्रक्रिया, पारदर्शी तथा भरपर्दो सेवा, व्यावसायिक भुक्तानी सहयोग गर्ने अफर दिएर नेपाली व्यवसायीलाई काम गर्न प्रेरित गरिरहेका छन् ।
भुक्तानी नगरेरै ठगी ?
नेपालका केही शैक्षिक परामर्श व्यवसायीले HS reference number मात्र प्रयोग गरेर विद्यार्थीबाट रकम असुलेरसमेत ठगी गरिरहेको सूचनासमेत प्राप्त भएको छ । भिसा एप्लाई गर्दा UKVI को पोर्टलमा रहेको IHS फारम भरेपछि पेमेन्ट अप्सन आउँछ । पेमेन्टमा क्लिक गरेपछि डेविट वा क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी हुन्छ । कार्डबाट भुक्तानी गरेपछि IHS reference number आउँछ । सोही नम्बर प्रयोग गरेर भिसा एप्लाई गर्छन् ।
भिसा एप्लाई भएपछि कन्सल्टेन्सीहरुले बदमासी गर्ने गरेको अर्का एक शैशिक परामर्श व्यवसायीको आरोप छ । उनका अनुसार अघि प्रयोग भएको कार्ड क्यान्सिल गरे विद्यार्थीको लाखौं रकम पचाउने गरेका छन् ।
कार्डबाट गरेको भुक्तानी भिसा अफिसर वा विद्यार्थीले जानकारी नपाउने हुँदा कन्सल्टेन्सीहरुले यस्तो धन्दा चलाएका हुन् । बेलायत पुगेर विरामीको परेपछि मात्र विद्यार्थीले आफ्नो बीमाको खोजी गर्ने हुँदा कन्सल्टेन्सीले यसको भरपुर फाइदा उठाइरहेका छन् ।