प्रेरक प्रसंग : दुई राज्यका राजाहरुमा को ठुलो ?
काठमाडौं – एकपटक मिथिलाका राजा जनक र चेदी देशका राजा पौन्द्रकको रथ एउटै बाटोको साँघुरो स्थानमा दुईतिरबाट आमने–सामने भएछन । जनकका सारथिले अर्कोसँग भन्यो, ‘मेरो रथमा जनक राजा विराजमान हुनुहुन्छ्र तिमीले छेउ लागेर बाटो छाडिदेऊ्र ।’
पौन्द्रकको सारथिले पनि त्यस्तै भन्दै बाटो माग्यो । कसले कसका लागि पहिले बाटो छाड्ने भनेर छलफल भयो । जसको उमेर कम छ, त्यसले छाड्ने निर्णय भयो । तर संयोगले दुवैको उमेर एकै रहेछ । जसको राज्य सानो छ त्यसैले छाड्नेभन्दा राज्य पनि दुवैले बराबर रहेछ । अब दुईमध्ये जो बढी गुणवान् छ, उसैले पहिले बाटो पाउने निर्णय भयो ।
पौन्द्रक राजाका सारथिले भन्यो, ‘हाम्रा राजा मित्रसँग असल र अरुसँग कठोर व्यवहार गर्नुहुन्छ । यो नै उहाँमा रहेको गुण हो ।’
जनक राजाका सारथिले जवाफ दियो, ‘त्यसो भए तिमि बाटो छाड । हाम्रा राजा जनक त असल मित्रसँग मात्रै हैन शत्रु र दुष्टसँग पनि सदव्यवहार गरेर उसले दुस्टतालाई सधैका निम्ति नाश गरिबक्सन्छ । त्यसैले उहाँ नै गुणी होइबक्सन्छ ।’
अन्त्यमा निर्णय भयो, ‘दुष्टलाई पनि सपार्ने, शत्रुसँग पनि सतव्ष्वहार गर्ने जनक राजा नै ठुला हुन् । अतःउनले नै पहिला बाटो पाउनुपर्छ ।’