विप्लवको विज्ञप्तिले सिंहदरबारमा खैलावैला, गृहमन्त्री तनावमा !

आइतबार, १९ साउन २०७६

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दा अभियान चलाएपछि सिंहदरबारमा खैलावैला मच्चिएको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनासहित विप्लव नेकपाले विज्ञप्ति नै जारी गरी आर्थिक सहयोग मागेपछि गृहमन्त्री रामबहादुर थापा (बादल) तनावमा छन् ।

हिंसात्मक गतिविधि मच्चाएको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीमा आर्थिक अभियान शुरु भएको जनाएका छन् ।

शनिवार उनले एउटा लामो विज्ञप्ति निकाल्दै ५ महिनासम्म पार्टीले आर्थिक अभियान सञ्चालन गर्न लागेको र यो अभियानमा पार्टीको केन्द्रीय समिति, ब्यूरो, जिल्ला र मोर्चाहरुको संयुक्त र एकीकृत सहभागिता रहने उल्लेख गरेका छन् । प्रकाण्ड यस अगाडि पनि पार्टीको आर्थिक विभागमा थिए ।

प्रकाण्ड अहिले पार्टीभित्र पार्टी प्रवक्ता, सचिवालय सदस्य, आर्थिक विभाग प्रमुख, मध्य कमाण्ड इन्चार्ज र विद्यार्थी फ्याक्सन इन्चार्ज छन् ।

पार्टीभित्र आर्थिक प्रणाली एकद्वार नीति अन्तर्गत अगाडि बढाउने निर्णय भएसँगै प्रकाण्डले यो विभागको नेतृत्व हत्याउन सफल भएका छन् ।

प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, (‘देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैं सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रकाण्डको खुलेआम आर्थिक सहयोग गर्न अपिल सहितको वक्तब्य जारी भएसँगै उधोगी, ब्यवसायीहरु भने आतंकित हुन थालेका छन् ।