कांग्रेस २.० को परीक्षा: विश्वप्रकाशका १५ संकल्प र संगठनको यथार्थ

सोमबार, १९ असोज २०८३

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको नियमित प्रक्रिया मात्र होइन। लामो समयदेखि संगठनात्मक, वैचारिक र नैतिक प्रश्नसँग जुधिरहेको पुरानो लोकतान्त्रिक पार्टीले आफूलाई पुनर्परिभाषित गर्ने अवसर पनि हो। यही सन्दर्भमा उपसभापति विश्वप्रकाश शर्माले अघि सारेका १५ संकल्प सामान्य राजनीतिक प्रस्ताव मात्र होइनन्।ध्यान दिएर पढ्दा यी संकल्प कांग्रेसले के गर्ने भन्दा बढी के छाड्नेको सूची हुन् व्यक्ति केन्द्रित राजनीति, स्थायी गुट, पदको पुनरावृत्ति, अवसरवाद, पहुँचमा आधारित टिकट, अपारदर्शिता, जनादेशको अहंकार र राजनीतिक संरक्षण। यस अर्थमा यी संकल्प कांग्रेसको संगठनात्मक रोगको ऐना हुन्। प्रश्न यति होस् ऐनामा देखिएको अनुहार बदल्ने कि ऐना नै फोड्ने ?

नेता होइन, संस्था

पहिलो संकल्प व्यक्तिकेन्द्रित राजनीति नगर्ने हो। लोकतान्त्रिक दलमा लोकप्रिय नेता आवश्यक हुन्छ, तर नेता नै पार्टी बन्न थालेपछि संस्था कमजोर हुन्छ। नैतिक प्रतिबद्धताले मात्र यो अन्त्य हुँदैन। महत्वपूर्ण निर्णयको लिखित आधार, नीति विभागको छलफलबाट पारित प्रस्तावलाई मात्र पार्टी निर्णय मान्ने व्यवस्था र पदाधिकारीको कार्यसम्पादन मूल्यांकन चाहिन्छ।

दोस्रो संकल्प गुटबारे हो। फरक विचार समस्या होइनस फरक विचारलाई पद, पहुँच र स्रोतको स्थायी गुटमा बदल्नु समस्या हो। मुद्दाका आधारमा अस्थायी समूह बन्न पाउने र फरक मत राख्दा कारबाही नहुने संहिता चाहिन्छ, तर समानान्तर कार्यालय र कोष निषेध हुनुपर्छ।

पद गोत्र होइन

तेस्रो संकल्प, पदलाई गोत्र जस्तै स्थायी नबनाउने, राजनीतिक रूपमा सबैभन्दा कठिन तर दीर्घकालीन रूपमा सबैभन्दा निर्णायक हो। अनुभव आवश्यक हुन्छ, तर त्यसलाई अनन्त पदाधिकारमा बदल्दा नयाँ पुस्ताका लागि ढोका बन्द हुन्छ। समाधान पुराना हटाऊ, नयाँ ल्याऊ होइन। कार्यकाल सीमा, जिम्मेवारीको पुनर्विन्यास र सम्मानजनक निकास एउटै प्याकेजमा आउनुपर्छ। वरिष्ठ नेताका लागि सल्लाहकार भूमिका बनाउने र युवालाई वास्तविक कार्यकारी जिम्मेवारी दिने हो भने पुस्तान्तरण संघर्ष होइन, संस्थागत प्रक्रिया बन्न सक्छ। निकास नदिई सीमा थोपरे प्रतिरोध बढ्छ।चौथो संकल्प, सिद्धान्तलाई अवसरअनुसार नबदल्ने, मा पनि स्पष्टता चाहिन्छ। लोकतान्त्रिक समाजवादजस्ता मूल्य स्थिर रहन सक्छन्, तर अर्थतन्त्र, रोजगारी, प्रविधि र जलवायुसम्बन्धी नीति समयअनुसार बदलिनु स्वाभाविक हो। सूत्र स्पष्ट छस् मूल्य स्थिर, नीति गतिशील। सत्ता गठबन्धन गर्नुअघि न्यूनतम साझा सर्त पार्टीबाट पारित गरी सार्वजनिक गर्नुपर्छ।

टिकट: सबैभन्दा कठिन परीक्षा

पाँचौँ संकल्प, पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने, कार्यान्वयनका हिसाबले सबैभन्दा कठिन छ। गुटीय शक्ति सबैभन्दा प्रत्यक्ष रूपमा टिकट वितरणमा देखिन्छ। जनाधारभन्दा निकटता, आर्थिक क्षमता वा गुटीय समीकरणले टिकट तय गर्‍यो भने अरू सबै संस्थागत सुधार अर्थहीन हुन्छन्।कांग्रेसले संगठनमा योगदान, स्थानीय जनसमर्थन, विगतको कार्यसम्पादन, नैतिक स्वच्छता र समावेशी प्रतिनिधित्वजस्ता पूर्वघोषित मापदण्ड बनाउनुपर्छ। सम्भव भएसम्म सदस्य–आधारित प्रारम्भिक मतदान वा स्थानीय प्राइमरीु प्रयोग गर्न सकिन्छ। अनि किन यही व्यक्ति ? भन्ने प्रश्नको उत्तर पार्टीले सार्वजनिक गर्न सक्नुपर्छ।यससँग छैटौँ संकल्प, अपारदर्शिता स्वीकार नगर्ने, जोडिन्छ। पारदर्शिता भन्नाले आर्थिक विवरण मात्र होइन, सदस्यता, मनोनयन, निर्णय प्रक्रिया र चुनावी खर्चसमेत खुला हुनुपर्छ। वार्षिक आय–व्यय र मनोनयनको आधार सार्वजनिक गर्ने ुओपन कांग्रेस सिस्टमु आवश्यक छ।

जनादेश खाली चेक होइन

सातौँ संकल्पले जनादेशलाई अहंकारमा नबदल्न भन्छ। जनादेश शासन गर्ने अनुमति हो, स्वेच्छाचारिताको अधिकार होइन। निर्वाचित प्रतिनिधिलाई वार्षिक सार्वजनिक सुनुवाइ र कार्यप्रगति प्रतिवेदनमा बाँध्नुपर्छ। मतदाता पाँच वर्षमा एकपटक भेटिने व्यक्ति होइन, निरन्तर संवादको साझेदार हो।आठौँ संकल्प, घोषणापत्रलाई ऋण लिएर बिर्सिने तमसुकू नबनाउने, तुलनात्मक रूपमा सबैभन्दा सजिलै संस्थागत गर्न सकिने बुँदा हो। प्रत्येक प्रतिबद्धतामा लक्ष्य, समयसीमा, स्रोत, जिम्मेवार निकाय र मापन सूचक राख्ने र सरकारमा होस् वा प्रतिपक्षमा, वार्षिक स्कोरकार्ड सार्वजनिक गर्ने हो भने यो सम्भव छ।

संरक्षण र नैतिकता

नवौँ संकल्प, कानुनी प्रक्रियामा राजनीतिक संरक्षण स्वीकार नगर्ने, सबैभन्दा संवेदनशील बुँदामध्ये एक हो। आरोप लाग्दैमा कोही दोषी हुँदैन, तर राजनीतिक शक्ति प्रयोग गरेर आरोपितलाई अनुसन्धानबाटै जोगाउने प्रवृत्ति लोकतन्त्रका लागि झन् गम्भीर छ। यसका लागि स्वतन्त्र अनुशासन संयन्त्र र गम्भीर अभियोग लागेकालाई मुद्दा टुंगो नलागेसम्म पदबाट निलम्बन गर्ने आचारसंहिता चाहिन्छ। यो संयन्त्र राजनीतिक प्रतिशोधको औजार नबनोस् भन्न निष्पक्ष प्रक्रिया र अपिलको व्यवस्था पनि अनिवार्य छ।दशौँ संकल्प, सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने, यही नैतिक संरचनाको अर्को तह हो।

वार्षिक सम्पत्ति विवरण, हितको द्वन्द्व घोषणा र पार्टी कोष तथा व्यक्तिगत स्रोतबीच स्पष्ट विभाजन चाहिन्छ। म स्वच्छ छ भन्ने दाबीभन्दा स्वच्छता प्रमाणित हुने प्रणाली महत्वपूर्ण हुन्छ।एघारौँ संकल्पले सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउन भन्छ। सञ्जाल बन्द गर्नु समाधान होइन। नियमित आन्तरिक फोरम, खुला बहस र डिजिटल आचारसंहिता बनाउनुपर्छ। आलोचना सुरक्षित हुनुपर्छस झुट, घृणा र चरित्रहत्या मात्र अनुशासनको विषय बन्नुपर्छ।

युवा र समावेशिता:संख्या होइन, निर्णयमा पहुँच

बाह्रौँ संकल्प, योग्य युवालाई प्रतीक्षामा मात्र नराख्ने, कांग्रेसको भविष्यसँग जोडिएको छ। प्रतिनिधित्व र वास्तविक शक्ति एउटै होइनन्। सोध्नुपर्ने प्रश्न कति युवा छन्  होइन, कति निर्णय युवाले गरे भन्ने हो । भ्रातृ संस्थालाई नेतृत्वको प्रतीक्षालयु बनाइराखेर कांग्रेस २.० सम्भव हुँदैन।समावेशिताका हकमा पनि कोटा पूरा गर्नु मात्र पर्याप्त छैन। महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पिछडिएका क्षेत्रका नेतृत्वलाई सधैँ कोटाको अनुहारू बनाइराख्नु समावेशिता होइन। प्रतिनिधित्वबाट सहभागिता हुँदै निर्णय प्रक्रियासम्म पुग्नुपर्छ, र एउटै व्यक्ति वा परिवारले बारम्बार कोटाको अवसर पाउने अवस्था रोकिनुपर्छ।

चौधौँ संकल्प योगदान र योग्यताबीचको सन्तुलनबारे हो। दशकौँ पार्टीका लागि काम गरेकाको योगदान अवमूल्यन गर्न मिल्दैन, तर विगतको योगदान वर्तमान जिम्मेवारीको स्थायी प्रमाणपत्र पनि होइन।

सूत्र सरल छ : योगदानले सम्मान दिलाउँछस योग्यता र कार्यसम्पादनले जिम्मेवारी

अन्तिम संकल्प, स्वार्थलाई संस्था र लोकतान्त्रिक मूल्यभन्दा माथि नराख्ने, बाँकी सबैको मास्टर टेस्टु हो। यो सफल भयो भने अरू बुँदा कार्यान्वयनको बाटो खुल्छस असफल भयो भने बाँकी १४ बुँदा भाषणमै सीमित हुनेछन्।

संकल्पलाई प्रणालीमा बदल्न पाँच सुधार

पहिलो, पदावधि सीमा, उम्मेदवार छनोटका मापदण्ड र आचारसंहिता विधानमै लेख्ने। नेतृत्व फेरिएसँगै हराउने प्रतिबद्धताले संस्थागत सुधार गर्दैन।दोस्रो, अनुशासन, वित्तीय लेखापरीक्षण र घोषणापत्र अनुगमनका संयन्त्र कार्यकारी नेतृत्वको नियन्त्रणबाहिर राख्ने। न्याय गर्ने पनि नेतृत्व, सजाय दिने पनि नेतृत्वू भयो भने आन्तरिक लोकतन्त्र कमजोर हुन्छ।तेस्रो, वास्तविक सदस्यता सूची, डिजिटल अभिलेख र निष्पक्ष आन्तरिक निर्वाचन। यिनबिना कांग्रेसको लोकतान्त्रिक दाबी अधुरो रहन्छ। चौथो, नीति अनुसन्धान, सार्वजनिक बहस र प्रदेश तथा स्थानीय तहको सुझावलाई नियमित बनाउने। निर्णय “कुन नेताले के भने ? बाट होइन, कुन नीतिले देशलाई के दिन्छ ?” बाट निर्देशित हुनुपर्छ। पाँचौँ, १५ संकल्पको वार्षिक स्कोरकार्ड। कति युवा, कुन तहमा, कति निर्णयमारु कति प्रतिवेदन सार्वजनिक भएरु घोषणापत्रका कति प्रतिशत प्रतिबद्धता पूरा भएरु प्रश्न यति ठोस हुनुपर्छ।

नयाँ अनुहार कि नयाँ प्रणाली ?

कांग्रेस २.० लाई केही नयाँ अनुहारको आगमन मात्र ठानियो भने यसको अर्थ कमजोर हुन्छ। पुरानै टिकट वितरण, गुट व्यवस्थापन र अपारदर्शी निर्णय प्रणाली नयाँ अनुहारले चलाए भने त्यो पुरानो कांग्रेसको नयाँ संस्करण मात्र हुनेछ। त्यसैगरी गुटको अन्त्यका नाममा फरक विचार दबाउनु पनि कांग्रेस २.० होइन। आवश्यक कुरा असहमति हटाउनु होइन, असहमतिलाई संस्थागत बनाउनु हो।यी संकल्पले कांग्रेसको संकट बाहिर होइन, आफ्नै संगठन, संस्कार र नेतृत्व व्यवहारभित्र खोजेका छन्। यही यिनको राजनीतिक महत्व हो।

तर चुनौती पनि त्यहीँ छस् संकल्प गर्ने नेतृत्वले यी नियम आफूबाट सुरु गर्न तयार छ कि छैनरु पदावधिको सीमा अरूका लागि मात्र, पारदर्शिता कार्यकर्ताका लागि मात्र र नैतिकता विरोधी गुटका लागि मात्र हुने भए संकल्पको नैतिक शक्ति समाप्त हुन्छ।आजको आवश्यकता ठूलो कांग्रेस होइन, काम गर्ने कांग्रेस होस् धेरै पदाधिकारी भएको होइन, जिम्मेवारी स्पष्ट भएकोस धेरै सदस्य भएको होइन, सक्रिय सदस्य भएकोस धेरै घोषणापत्र भएको होइन, आफ्नै घोषणापत्रको हिसाब दिने।

विश्वप्रकाशका १५ संकल्प यात्राको नक्सा हुन सक्छन्, तर नक्साले यात्रा गर्दैन। यात्रा नेतृत्वले गर्नुपर्छ, बाटो संस्थाले बनाउनुपर्छ र गन्तव्यको हिसाब कार्यकर्ताले माग्नुपर्छ। कांग्रेस २.० को परीक्षा महाधिवेशनको मञ्चमा होइन, त्यसपछि वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मको दैनिक व्यवहारमा हुनेछ।मूल प्रश्न १५ संकल्प पारित भयो कि भएन भन्ने होइन, यी संकल्पको पहिलो नियम आफैंमाथि लागू गर्न कांग्रेस नेतृत्व तयार छ कि छैन ? त्यही उत्तरले कांग्रेस २.० संकल्प मात्र हो कि साँच्चिकै पुनर्जन्म, निर्णय गर्नेछ।