रास्कोटको ताम्ती लेक अमेरिकाको कोलोराडोभन्दा के कम ?
अमेरिकाको कोलोराडोका अग्ला पहाड, हरिया वन, नीलो आकाश र पहाडमाथि फैलिएको घाम देख्दा मन लोभिन्छ । प्रकृतिले कतै यति सुन्दर संसार पनि बनाएको रहेछ भन्ने लाग्छ । तर त्यही दृश्य हेर्दाहेर्दै मेरो मन अचानक हजारौँ किलोमिटर टाढा, कालिकोटको रास्कोटस्थित ताम्ती लेक पुग्छ । अनि मनले आफैंलाई प्रश्न गर्छ—ताम्ती लेक कोलोराडोभन्दा के कम ?
ताम्ती लेक मेरा लागि कुनै पर्यटकीय गन्तव्य मात्र होइन, मेरो सम्झनाको भूगोल हो। त्यहाँको हावामा बाल्यकाल मिसिएको छ, पाखाका बाटामा मेरा पाइला छन्, गाउँका घरमा आफ्ना मान्छेको आत्मीयता छ। आमाको आवाज, बुबाको पसिनाको गन्ध, गाउँका बाटामा भेटिने आफन्तको मुस्कान, दुःखमा पनि रमाएका दिन र घर फर्किँदा मनमा आउने त्यो अनौठो शान्ति—ताम्ती लेक सम्झिँदा यी सबै एकैपटक फर्केर आउँछन्।
ताम्ती लेकको कथा मेरो लागि प्रकृतिको सौन्दर्यमा मात्र सीमित छैन, यो बाँचाइसँग जोडिएको कथा पनि हो। कुनै ताका भदौ र चैतको अनिकाल टार्ने भरोसा यही माटोले दिएको आलु थियो। घरमा अन्नको जोहो कमजोर हुँदा त्यही आलुले भोक टार्यो। आज सामान्य लाग्ने त्यो आलु मेरा लागि कठिन समय पार गराउने परिवारको मौन सहारा हो। त्यसमा केवल स्वाद थिएन, अभावका दिनमा बाँचेको एउटा पुस्ताको सम्झना थियो।
त्यही वनपाखाले दाउरा दिएर चुलो बाल्यो, भान्सा चलायो र घर न्यानो बनायो। अनि त्यही प्रकृतिको अर्को अमूल्य उपहार थियो लोस्टा, जसले कुनै समय गाउँका बस्तीलाई उज्यालो पार्यो। आज बिजुलीको स्वीच थिच्दा सहजै उज्यालो आउँछ। तर लोस्टाको मधुरो उज्यालोमा बितेका ती साँझ सम्झँदा लाग्छ—ताम्ती लेकको प्रकृतिले हामीलाई केवल हरियाली र सुन्दर दृश्य दिएको थिएन, जीवन धान्ने आधार नै दिएको थियो।
त्यसैले ताम्ती लेकको सुन्दरता केवल डाँडाकाँडा, हरिया पाखा, बादल र सुनौलो घाममा छैन। त्यहाँ भोक टारेको आलु छ, चुलो बालेको दाउरा छ, अँध्यारो हटाएको लोस्टा छ। त्यहाँ प्रकृति र मानिसबीच पुस्तौँदेखि चलेको आत्मीय सम्बन्ध छ। कोलोराडोमा मानिस प्रकृतिको सौन्दर्य हेर्न पुग्छन्ः ताम्ती लेकमा भने हामीले प्रकृतिसँगै जीवन बाँचेका छौँ।
सायद यही कारणले परदेशको पहाड हेर्दा आँखाले सुन्दरता देख्छ, तर आफ्नै ताम्ती लेक सम्झिँदा मनले जीवन देख्छ। एउटा पहाड बाहिरबाट हेर्दा केवल चट्टान, वन र हरियालीको संरचना हुन सक्छस तर आफ्नै पहाडमा बाल्यकालका पाइला, आमाको मिहिनेत, बुबाको पसिना र पुस्तौँका कथा जोडिएका हुन्छन्। त्यसैले आफ्नै माटोको सुन्दरता आँखाभन्दा गहिरो हुन्छ।
विडम्बना के छ भने हामीले आफ्नै पहाडलाई धेरैपटक अभाव र दुःखको प्रतीकका रूपमा मात्र हेर्यौँ। उकालो देख्यौँ, सम्भावना देखेनौँ। पाखा देख्यौँ, पर्यटन देखेनौँ। वन देख्यौँ, त्यसले दिएको जीवन बिर्सियौँ। गाउँ छोडेर सहर र विदेशतिर लाग्यौँ अनि टाढाका पहाडमा आफ्नै पहाडको अनुहार खोज्न थाल्यौँ। कमी हाम्रो पहाडमा थिएन, आफ्नै सुन्दरता चिन्न नसक्ने हाम्रो दृष्टिमा रहेछ।
अब समय आएको छ—ताम्ती लेकजस्ता ठाउँलाई केवल विगतको सम्झना होइन, भविष्यको सम्भावना पनि मान्ने। प्रकृति नबिगारी पर्यटन विकास गर्न सकिन्छ । स्थानीय आलु र कृषि उत्पादनलाई बजारसँग जोड्न सकिन्छ। पुराना बाटालाई पदमार्ग बनाउन सकिन्छ। गाउँको संस्कृति, जीवनशैली र प्रकृतिलाई नयाँ पुस्ता र बाहिरी संसारसँग जोड्न सकिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नै गाउँमा भविष्य देख्ने वातावरण बनाउन सकिन्छ।
मलाई थाहा छैन, संसारले ताम्ती लेकलाई कहिले कोलोराडोजस्तै चिन्ला। तर कोलोराडो देखेपछि मैले आफ्नो ताम्ती लेकलाई नयाँ आँखाले हेर्न थालेको छु। कोलोराडो आँखाका लागि सुन्दर होलास ताम्ती लेक मेरो आँखासँगै मेरो मनको पनि भूगोल हो। त्यहाँ पुग्दा म केवल पहाड हेर्दिनँ—आफ्नो विगत भेट्छु, आफ्ना मान्छे भेट्छु र आफू कहाँबाट आएको हुँ भन्ने सम्झन्छु।
त्यसैले कोलोराडोका सुन्दर पहाड हेरेपछि पनि मेरो मन अन्ततः आफ्नै ताम्ती लेकमै फर्किन्छ।
ताम्ती लेक कोलोराडोभन्दा के कम ?
केही पनि कम छैन।
प्रकृतिले ताम्ती लेकलाई सुन्दर बनाइसकेको छ। अब हामीले त्यसलाई चिन्न, जोगाउन र संसारलाई चिनाउन बाँकी छ।
किनकि ताम्ती लेक केवल एउटा पहाड होइन— हामीलाई भोकमा आलु, चुलोमा दाउरा, अँध्यारोमा लोस्टा र जीवनभरका लागि सम्झना दिएको आफ्नै माटो हो।