कात्तिक १३ र १४ गते दुईदिन उच्च सतर्कता अपनाउन विभागको अनुरोध

बुधबार, ११ कार्तिक २०८३

काठमाडौँ – बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले आगामी कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार कात्तिक १३ गते शुक्रबारदेखि यसको प्रभाव देखिनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ।

सम्भावित जोखिमबाट बच्न प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्न र नदी तथा खोला किनारका बाढी जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

आपत्कालीन अवस्थाका लागि मौसमसम्बन्धी जानकारी लिन ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न प्रवक्ता केसीले जानकारी दिएका छन्।