कांग्रेस नेताविरुद्ध सरकारको धरपकड सुरु, पहिलो निशानामा सहमहामन्त्री शिवाकोटी

बिहिबार, १९ कार्तिक २०८३

काठमाडौँ – सरकारले नेपाली कांग्रेसका नेताहरुमाथिको धरपकड सुरु गरेको छ । यसको पहिलो निशाना बनेका सहमहामन्त्री अजुबाबु सिवाकोटी । शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।

काठमाडौँ बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । बालेन सरकारले तर्साएर सत्ता चलाउन खोजिरहेको भन्दै नबिराउनु नडराउनु भनेझैँ आफू काठमाडौँ बाहिर रहेको र काठमाडौँ फर्कदै गरेको बताए ।

उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान मात्रै सरकारले दिन खोजेको भय र भ्रमले विचलित नहुने बताएका छन् । उनले आफूलाई प्रहरी लगाएर खोज्न नपर्ने भन्दै आउँदै गरेको बताए । सहमहामन्त्री शिवाकोटीले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।’ शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।

साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका कारण बोलाइएको ब्युरो स्रोतले बताएको छ । उनले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए । उनले बिचौली भनिएका प्रहरीको हिरासतमा रहेका इनम सापकोटाको प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डकाबारेमासमेत पनि प्रतिक्रिया दिएका थिए ।

यता, विचौलिया इनम सापकोटको वयानका आधारण प्रहरीले सभापति गगन थापामाथि पनि निगरानी बढाएको छ । सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको हो। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध न्यौपाने थरका एक जना डीएसपी खटाएको छ ।

डीएसपीको टोलीले सभापति थापाका गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको र बुधबार आईजीपीबाट कार्कीलाई हटाएसँगै त्यो झन् बढेको पाइएको गगन थापाको सचिवालयका एक सदस्यले बताएका छन् ।