धरापमा बालेनको प्रधानमन्त्री पद, बिलखबन्दमा रवि लामिछाने

शुक्रबार, २० कार्तिक २०८३

बिहीबार चितवन पुगेर रास्वपा सभापति रविले लामिछाने सरकारविरोधी अभिव्यक्ति दिए । रविले आईजीपी हटाएको र नयाँ नियुक्ति गरेको विषयमा सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताएपछि सोही बेलुका प्रधानमन्त्री बालेन शाहले काउन्टर जवाफ दिए । सामाजिक संजालमा स्टाटस लेख्दै बालेनले, ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’ भनेपछि रवि बालेनविरुद्ध शुक्रबार झनै आक्रामक बनेका छन् ।

बालेनको काउन्टर जवाफमा रविले भनेका ‘हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँ, सरकारले भूँईमा टेक्नुपर्छ ।’ रविले कसैसँग बदला लिन प्रहरी प्रशासनको दुरुपयोग गर्न नहुने बताउँदै सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिएका छन् । ‘हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन, कुनै हालतमा तपाईंले भुइँ छोड्नु हुँदैन,’ उनले बालेनलाई भने, ‘हामीले एउटा चुनाव जितेका हौँ कुनै ग्रहबाट खसेका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ। यसलाई हामीले भुल्नु हुँदैन ।’

सरकारले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखबाट हटाएपछि सत्ता रुढरास्वपामा उत्कर्षमा पुगेको छ । पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच निकै ठूलो टकराव हुँदा सरकारको आयुका बारेमा बहस हुन थालेको छ । अघिल्लो दिन कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकमा ४३ वटा निर्णय गर्दा आईजीपीका विषयबारे चाइँचुइँ नगरेका प्रधानमन्त्री शाहले भोलिपल्टै फेरि मन्त्रिपरिषद् राखेर अचानक आईजीपीबाट कार्कीलाई हटाउने निर्णय गरेका थिए।

रवि पक्षका एक मन्त्रीले प्रधानमन्त्री बालेनले यसरी किन हतारो गरे भन्ने कुरा बुभ्न नसकिएको बताएका थिए । मन्त्रिपरिषद् बैठक सकिएपछि कानुन, भूमि व्यवस्था तथा सहकारीलगायत चार जना मन्त्री ऊर्जा मन्त्रालयमा बसेर चिया पिउँदै प्रधानमन्त्रीको आलोचना गरेका थिए। यता आईजीपी हटाउने निर्णयलगत्तै रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीलाई जानकारी नै नदिई कार्की हटाइएको बताए।

सरकारले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाएको भन्दै दानबहादुर कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका छन्। बिहीबार पेश गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । शुक्रबार दर्ता भएको रिटको पेसी कात्तिक ३० गतेका लागि तोकिएको छ । रविनिकट नेताहरूले अदालतबाट आइजिपिमा कार्की पुनरबहाली हुनेमा आशावादी देखिएका छन् ।

पार्टीभित्र अहिले ‘टिट फरक ट्याट’ शैलीबारे बहस भइरहेको रास्वपा नेताहरूको भनाइ छ। बिचौलिया इनम सापकोटालाई पक्राउ गर्दा प्रधानमन्त्री वा उनको सचिवालयलाई सुइँकै नदिएपछि तत्कालीन आईजीपी कार्कीसँग प्रधानमन्त्री शाहको टिम आक्रोशित थियो। त्यही बेला सञ्चारगृहमै प्रवेश गरी पत्रकार पक्राउ गरेर कार्कीलाई आरोप लगाइयो। खासमा इनम सापकोटा बालेनको टिमकै मान्छे भएकाले पक्राउ गर्न नहुने सचिवालयको बुझाई दियो ।

एक मन्त्रीका अनुसार ‘इनम पक्राउले सक्ड भएकाहरूले कार्कीलाइ कारबाही गरेर देखाइदिएका हुन् कि ?’ ‘इनम सापकोटा पक्राउको विषयमा प्रधानमन्त्रीलाई सुइँको नदिइएको भएरै पार्टीलाई पनि थाहै नदिई आईजीपी कार्की हटाएको हल्ला पनि छ’, ती मन्त्रीले भने। अब यो प्रकरण कहाँसम्म लम्बिन्छ अहिले भन्न सकिने स्थिति छैन। यद्यपि पार्टी सभापतिले चाहेमा जुनसुकै बेला दलको नेताबाट प्रधानमन्त्री शाहलाई हटाउन सक्ने रास्वपाको विधान छ। त्यही विधानमा भएको प्रावधानका कारण प्रधानमन्त्री बालेनको पद धरापमा परेको विश्लेषण हुन थालेको छ ।

सुनसरीको देवानगञ्जबाट उत्पन्न सामाजिक सद्भाव बिथोलिने खालका गतिविधि रोक्न सरकारको भूमिका, व्यवस्थापनबिना काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर प्रयोग, आत्मदाहको घटनालाई विषयान्तर गरी विभिन्न सञ्चारगृहअगाडि शंकास्पद गाडी राखिएको घटना, विभिन्न आरोप लगाएर पर्याप्त प्रमाण र आधारबिना उच्च प्रोफाइलका व्यक्तिहरूलाई पक्राउ गरी छाडिएको विषय, विभागीय मन्त्रालय, संवैधानिक तथा कूटनीतिक निकायमा प्रधानमन्त्रीको सचिवालयले अनावश्यक हस्तक्षेप गरेको आरोप, महँगी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन नसकेको विषय तथा भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रका पीडितहरूको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणमा सरकारको भूमिकालाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

यी विषयमा सरकारले संवेदनशील भएर समाधान खोज्नुको सट्टा स्टन्टबाजी गरेको आरोपसमेत लाग्दै आएको छ । सरकारको कार्यशैलीलाई लिएर विपक्षी दलहरू र सरोकारवाला निकाय मात्र होइन, सत्ताधारी रास्वपाकै नेता तथा सांसदहरूले पनि खबरदारी गरिरहेका छन् । पार्टीका आन्तरिक बैठक, प्रशिक्षण तथा भेलामा पार्टी नेतृत्वले सरकारको नियत गलत नभए पनि काम गर्ने ढङ्ग नपुगेको भन्दै नेताहरूले आलोचना गर्न थालेका छन् ।