आफ्नै तलव कटाएर गाउँपालिका अध्यक्षले किने एम्बुलेन्स

मंगलबार, ७ असोज २०७६

काठमाडौं – कालिकोट जिल्लाको एउटा गाउँपालिकाका अध्यक्षले आफ्नो तलव कटाएर एम्बुलेन्स खरिद गरेका छन् । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो दुई बर्षको तलवबाट एम्बुलेन्स खरिद गरेका हुन् ।

अध्यक्ष बमले गाउँकालिकाका जनतालाई सेवा दिन महेन्द्रा कम्पनीको बोलेरो जिप खरिद गरेर एबुलेन्स बनाएको बताएका छन् । बोलेरो एम्बुलेन्सलाई १० लाख एक हजार तीन सय ४८ रुपैयाँ परेको गाउँपालिकाका कर्मचारी विनोद कुमार न्यौपानेले बताए । विभिन्न मन्त्रालयले छुट उपलव्ध गराएको र भन्सार शुल्क पनि तिर्न नपरेकाले एम्बुलेन्स सस्तो परेको श्रोतको दावि छ ।

कालिकोट जिल्लाको अति दुर्गम गाउँपालिकाका रुपमा परिचित पलाँता गाउँपालिकाका जनताले विरामी पर्दा डोको काटेर अस्पतालसम्म पुर्याउनु पर्ने बाध्यता छ । एम्बुलेन्स पुगेपछि पलाँताका जनताले ठुलो राहत प्राप्त गर्नेछन् । एम्बुलेन्स पलाँता पुग्न एक हप्ता लाग्ने गाउँपालिकाले जनाएको छ ।