शिवम् सिमेन्टले घर बनाउँदै हुुनुहुन्छ ? पख्नुहोस् ! घर भत्किन सक्छ

मंगलबार, २२ पौस २०७६

काठमाडौं – घर बनाउँदै हुनुहुन्छ ? अर्थाथ शिवम् सिमेन्टले घर बनाउने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने एकछिन् पर्खिनुहोस् ।

घर आफ्नो र परिवारको सुरक्षाका लागि बनाउने हो तर शिवम् सिमेन्टले बनाएको घर तथा अन्य संरचानहरु असुरक्षित हुने गरेको पाइएको छ । शिवम् सिमेन्ट लिमिटेडले उत्पादन गरेको शिवम् सिमेन्टले घर बनाउँदा छिट्टै भत्किने सम्भावना बढि छ । उसले गुणस्तरहीन र कमसल सामाग्री प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने भएकाले छिट्टै घर भत्किने सम्भावना रहेको विज्ञहरुको भनाई छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको जानकारी अनुसार सिमेन्टमा म्याग्नेसियम अक्साइड (एमजिओ)को मात्र नेपालको मापदण्ड भन्दा बढि प्रयोग भइरहेको छ । शिवम् सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा ५ दशमलव ८ प्रतिशत भन्दा बढि भएको पाइएको विभागले जनाएको छ ।

सिमेन्टले म्याग्नेसियम अक्साइडको मात्र बढि हालेर उत्पादन गरिरहेको भन्दै विभागले कारवाहीका लागि यस अघिनै सिफारिस गरिसकेको छ । नेपालको मापदण्ड अनुसार म्याग्नेसियम अक्साइडको मात्रा ५ प्रतिशत भन्दा तल हुनुपर्छ अर्थात ३ देखि ५ प्रतिशतसम्मको म्याग्नेसियम अक्साइडको प्रयोग भएको सिमेन्टलाई राम्रो मान्ने गरिन्छ ।

गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा शिवम् सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा सिमेन्टमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको थियो ।

के हो एमजिओ अर्थात् म्याग्नेसियम अक्साइड ?

म्याग्नेसियम र चुनढुङ्गा मिलाएर बनाएको पदार्थ हो म्याग्नेसियम अक्साइड । ओपिसी र पिपिसी सिमेन्टमा पाइने तत्त्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजिओ अनिवार्य छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ ।

म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । नेपाल सरकारले सिमेन्टमा एमजिओको मात्रा ५ प्रतिशतसम्मलाई ठिकै भनेको छ । यद्यपि सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजिओको मात्रा ४ प्रतिशत मात्रै राखिएको हुन्छ ।

सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडले सिमेन्टलाई रङ दिने र बालुवा, गिट्टी तथा अन्य वस्तुहरुलाई समात्ने काम गर्छ । तर यदि सिमेन्टमा एमजिओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इट्टालाई राम्रोसँग नसमात्ने र सुकेलगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजिओको मात्रा कम हुनु आवश्यक छ । शिवम् सिमेन्ट प्रयोग गर्नाले घर चिरा पर्ने, फुट्ने, चर्किने तथा अन्तमा भत्किने सम्भावना बढि हुन्छ । शिवम् सिमेन्टले बनाएको संरचनाहरु ५ देखि १० बर्षमा भत्किने सम्भावना रहेको विज्ञहरुले बताउने गरेका छन् ।

होङ्सी शिवम् सिमेन्टमा पनि त्यस्तै

सिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको चाइनिज सिमेन्ट कम्पनी होङ्सी शिवम् सिमेन्टमा पनि म्याग्नेसियम अक्साइडको मात्र बढि रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग जनाएको छ । उसले एक बर्ष अघिनै चेतावनी सहितको पत्र पठाउँदा पनि सिमेन्ट कम्पनीले अटेरि गरेको विभागको भनाई छ । विभागले यो बर्ष पनि आफ्नो कमजोरी सुधार गर्न अनुरोध गरेको छ । यदी सुधार नगरे उद्योग बन्द गरिदिनेसम्मको चेतावनी विभागको छ ।

अटेरिको पराकाष्ट, मापदण्डनै परिवर्तन

नेपालका सिमेन्ट उद्योग मालिकहरुले तत्कालिन उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवलाई आफ्नो प्रभावमा पारेर सिमेन्टमा म्योग्नेसियम अक्साइडको मात्रा सम्बन्धीको मापदण्डलाई परिवर्तन गराउन सफल भएका थिए । मन्त्री यादवले २०५५ सालमा नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डलाई परिर्वतन गरि ६ प्रतिशतसम्म म्याग्नेसियम अक्साइडको मात्र बढाउने निर्णय गरेका थिए । विभागले २०५५ सालमा सिमेन्टमा म्याग्नेपिसयम अक्साइडको मात्र ५ प्रतिशत भन्दा तल हुुनुपर्ने मापदण्ड बनाएको थियो ।

उक्त मापदण्डलाई तत्काल कार्यान्वयन नगर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएपछि त्यो मापदण्ड तत्कालका लागि लागु भएको छैन । गुणस्तर विभागले गत असार ८ गते सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै समितिले पुरानै सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

समितिले थप छलफल गर्ने र अहिलेलाई पहिलेकै मापदण्ड कार्यन्वयन गर्न उद्योग मन्त्रालय र गुणस्तर विभागलाई निर्देशन दिएको थियो । शिवम् सिमेन्टको गुणस्तर र उद्योग प्रभावित क्षेत्रका जनताहरुको गुनासोसहितको साम्रागी आगामी अंकमा प्रकाशन गर्ने छौं । प्रतिक्षा गर्नुहोला ।