गुणस्तरहीन चाइनिज सिमेन्ट कम्पनी ‘होङ्सी सिमेन्ट’लाई कारवाही
काठमाडौं – चिनियाँ लगानी रहेको होङ्सी सिमेन्ट प्रालिले उत्पादन गरेको होङ्सी शिवम् सिमेन्ट गुणस्तरहीन भेटिएको छ । गुणस्तरहीन सिमेन्ट पाएसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
कारबाहीस्वरुप होङ्सीका उत्पादनकर्तालाई १५ दिनभित्र विभागमा उपस्थिति भई स्पष्टीकरण लिन निर्देशन दिएको छ । नेपाल गुणस्तर (प्रमाण चिह्न) नियामवली २०४० को नियम १६० अनुसार १५ दिने स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।
विभाग निर्देशक सञ्जीव कुमार ठाकुरले बजार अनुगमनको क्रममा होङ्सी सिमेन्ट गुणस्तरहीन पाएको बताए । ‘हामीले बजार अनुगमन गर्दा होङ्सी सिमेन्ट संकलन गरेका थियौं’, उनले भने, संकलनपछि परीक्षण गर्ने क्रममा होङ्सी गुणस्तरहीन भेटेका हौं ।’ विभागले आफ्नो प्रयोगशालामा सिमेन्टको परीक्षण गरेको थियो ।
‘प्रयोगशालामा परीक्षण गर्दा सिमेन्ट नेपाल गुणस्तरअनुरुप पाएनौं, उनले भने, ‘त्यसैले हामीले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन २०३७ तथा यिमावली २०४० अनुसार कानुनी कारबाही प्रक्रिया समेत अघि बढाएका छौं ।’
उनले होङ्सीको संकलित नमुनाको इनिसियल सेटिङ टाइम (३० मिनेट) ले नेपाल गुणस्तर ४९ अनुरुप नरहेको पाइएको बताए । होङ्सी सिमेन्ट प्रालिको नाममा उद्योग विभागमा दर्ता भएको छ भने नवलपरासीको बेनीमनिपुरमा उद्योगमा छ । अघिल्लो वर्ष ०२०७५० जेठदेखि उत्पादन थालेको होङ्सीले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको होङ्सीले व्यवसायिक उत्पादन भने २०७५ को जेठदेखि थालेको हो । यद्यपि उद्योगको पूर्ण क्षमता भनेको १२ हजार टन रहेको छ ।