आफ्ना कर्तुत लुकाउन एलआइसीको फण्डा : पत्रकारलाई करोडको अफरदेखि प्रहरीमा उजुरीसम्म
काठमाडौं – भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आफ्ना कर्तुतहरु लुकाउनका लागि विभिन्न खालका फण्डाहरु गर्न थालेको छ । भारत सरकारको स्वामित्वमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को मुख्य शेयर रहेको एलआइसी नेपालले आफ्ना कर्तुतहरु लुकाउन आर्थिक प्रलोभनदेखि शक्ति प्रदर्शन गर्नेसम्मका हर्कत देखाएको छ ।
केही समयदेखि मोटिभेट न्यूज डटकमले उक्त कम्पनीका बदमासीहरु एकपछि अर्को गर्दै छताछुल्ल पारेपछि विभिन्न खालका अफरहरुदेखि प्रहरीमा साइवर क्राइम अन्तर्गत मुद्धासमेत हालेको छ । नेपालको कानुनलाई चुनौती दिँदै आएको एलआईसी नेपालका विभिन्न खालका गतिविधिहरुको बारेमा मोटिभेट न्यूज डटकमले पर्दाफाँस गरेपछि अहिले कम्पनीका माथिल्लो तहका कर्मचारीहरु छटपटिएका छन् ।
मोटिभेट न्यूज डटकमले उक्त कम्पनीले भर्खरै सार्वजनिक गरेको नयाँ बीमा योजना भित्रका त्रुटिहरुलाई औल्याउँदै पहिलो समाचार सम्प्रेषण गरेको थियो । जसमा बीमाको सबै प्रिमियम पहिले नै बुझाउनु पर्ने र यसमा जनता ठगिने सम्भावना भएकाले सच्याउने अभिप्रायले समाचार सम्प्रेषण गरिएको थियो ।
त्यस्तै, एलआइसी नेपालको बोनस दरलाई लिएर कम्पनी अभिकर्ताहरुले बजारमा भ्रम छरेकाले त्यसको यथार्थ मोटिभेट न्यूज डटकमले छर्लङ्ग पारेको थियो । अलमलमा रहेका नेपाली जनतालाई त्यो समाचारले केही भएपनि राहत दिएको थियो । आफ्नो बोनस दर ८५ रुपैंया रहेको र नेपालको सबैभन्दा धेरै बोनस दिने कम्पनी पनि एलआइसी नै भएको भन्दै कम्पनीले नै जनतामा भ्रम छरेपछि मोटिभेटले यो समाचार तयार पारी प्रकाशन गरेको थियो ।
मोटिभट न्यूजले एलआईसीको अर्को कर्तुत पनि सार्वजनिक गरेको थियो । नेपालको कानुनमा कुनैपनि वैदेशिक लगानी भएका उद्योग तथा संस्थानहरुले माथिल्लो तहमा कर्मचारी राख्दा नेपाली नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख छ । वैैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनमा नेपालमा उपलब्ध कर्मचारीहरुलाई नै उच्च प्राथमिकताका साथ रोजगारी दिनुपर्ने उल्लेख गरिएको छ । यदि योग्य कर्मचारी नभएको खण्डमा मात्र विदेशीले आफ्नो अनुकुलतामा कर्मचारी राख्न पाउने कानुनमा उल्लेख छ ।
नेपालमा भारत सरकारको स्वामित्वमा रहेको सो कम्पनीले एलआईसी नेपालको प्रमुख कार्यकारी अधिकृतदेखि शाखा प्रबन्धकसम्मका कर्मचारीहरु भारतबाटै ल्याएर हुलेको छ । यो गैरकानुनी कार्य हो । के नेपालमा बीमा विज्ञहरु छैनन् ? के नेपालमा चलेका अन्य बीमा कम्पनीहरुका माथिल्लो तहका कर्मचारीहरु अयोग्य छन् ? कम्पनीले भारतीय कर्मचारी नियुक्ति गरेपछि नेपालको कानुनलाई एउटा कम्पनीले चुनौती दिएकै होत भन्ने गम्भीर प्रश्नहरु उब्जिएका छन् ।
पत्रकारलाई १ करोडको अफर
एकातर्फ समाचार संस्थालाई समाचार सम्प्रेषण गरेकै कारण नेपालको संविधानलाई चुनौती दिदै कम्पनीका प्रतिनिधिले पत्रकारलाई धम्की दिएका छन् भने अर्कोतर्फ ठूलो आर्थिक प्रलोभन पनि देखाएका छन् । जुन कम्पनीको द्वैत चरित्र हो । मोटिभेट न्यूज डटकमले बारम्बार उसको कर्तुतहरु सार्र्वजनिक गरेपछि विभिन्न माध्यमबाट समाचार सम्प्रेषण गर्ने पत्रकार तथा मोटिभेट न्यूज डटकमका अध्यक्ष/सम्पादक शोभराज बराललाई उक्त कम्पनीले एक करोडको अफर गरेको छ । ९८५७०६७३१६ नम्बरको मोबाइलबाट गोपाल नाम गरेका एक जना कम्पनीका एजेन्सी म्यानेजरले एक करोड रुपैयाँ दिनसक्ने हैसियत भएको भन्दै समाचार नलेख्न आग्रह गरेका थिए ।
बरालसँग कुरा गर्दै ती एजेन्सी म्यानेजरले आफ्नो कम्पनीमा भएका सम्पूर्ण अभिकर्ताहरुले एक एक हजार रुपैयाँ उठाएर एक करोड रुपैयाँ दिनसक्ने भन्दै प्रलोभन देखाएका थिए । टेलीफोनमा उनले भने, ‘तपाईले पैसाका लागि यो समाचार लेख्नु भएको होला यदि त्यसो हो भने हामी १ करोड रुपैयाँ दिन तयार छौँ । तपाईलाई विश्वास नलाग्न सक्ला तर हामीले सबै कर्मचारीको नामबाट एक एक हजार उठाएर तपाईलाई एक करोड उपलब्ध गराउँछौँ तर तपाईले समाचार हटाइदिनु पर्यो ।’ उनले धम्कीको भाषामा अगाडि भने, ‘तपाईले समाचार हटाउनु भएन भने राम्रो हुने छैन ।’
त्यस्तै, अर्का एक जनाले शनिबार ५० हजार अभिकर्ता आएर मोटिभेट अफिस घेर्ने भन्दै धम्कीसमेत दिएका थिए ।
पत्रकार फकाउन आफन्तको प्रयोग
मोटिभेट न्यूज डटकमले समाचार सम्प्रेषण गरेर अभिकर्ताहरुको काममा बाधा परेपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका कम्पनी सचिव बिनोद भुजेलले पत्रकार शोभराज बरालका आफन्त मार्फत विभिन्न खालका प्रलोभन देखाउँदै फकाउने असफल प्रयास गरेका थिए । नेपालगञ्जमा रहेर कम्पनीको एजेन्सी म्यानेजरको काम गर्दै आएका बरालका आफन्त कालिकोट जिल्ला रास्कोट नगरपालिकाका २ का गोकर्ण न्यौपाने मार्फत अबदेखि समाचार नलेख्न आग्रह गर्दै फोन गर्न पठाएका थिए ।
कम्पनीका कर्तुतहरु एकपछि अर्को गर्दै मोटिभेटले सार्वजनिक गर्न थालेपछि समाचार रोक्नका लागि न्यौपानेको प्रयोग भएको थिए । तर मोटिभेटले कुनैपनि हालतमा कम्पनीसँग सम्झौता नगर्ने निर्णय गरेपछि अरुपनि समाचारहरु सम्प्रेषण भएका थिए । मोटिभेट न्यूज डटकममा विज्ञापनको अफरसहित न्यौपानेले समेत कुरा गरे पनि मोटिभेट न्यूजले उक्त प्रलोभनको ठाडै अस्वीकार गरेको थियो । न्यौपानेसँंगै भुजेलले पनि ‘विज्ञापनकै लागि न्यूज लेखेको त होलानी’ भन्दै अबदेखि समाचार नलेख्न आग्रह गरेका थिए ।
पत्रकार शोभराज बरालका आफन्त न्यौपानेले पनि भनेको नमानेपछि कम्पनी सचिव भुजेलले आफै भेट्न बोलाएका थिए । कम्पनीका सूचना अधिकारीसमेत रहेका भुजेलले विभिन्न समयमा मोटिभेट न्यूज डटकमले मागेको सूचनाहरु दिन इन्कार गरेकाले मोटिभेटले उनलाई भेट्न मानेन ।
विज्ञप्तिबाजी
समाचार जताततै भाइरल भएपछि कम्पनी अतालिएर विज्ञप्तिबाजीमा उत्रिएको छ । उसले मोटिभेटकै समाचारको विषयलाई लिएर दुई ओटा विज्ञप्ति निकालेको छ । पहिलो विज्ञप्तिमा मोटिभेट न्यूज डटकमले बोनस दरको विषयलाई लिएर बनाएको समाचारको खण्डन गरेर विज्ञप्ति निकालिएको थियो भने अर्को विज्ञप्तिमा भारतीय कम्पनी संकटमा परेको भन्दै सम्प्रेषण भएको समाचारलाई आधार मानेर विज्ञप्ति निकालेको थियो ।
उक्त विज्ञप्तिमा मोटिभेट न्यूज डटकमको समाचारमा जे भनिएको थियो त्यही शब्द प्रयोग गरिएर आएको थियो । त्यस्तै कम्पनीले भारतीय बीमा कम्पनी संकटमा परेको भनेर समाचार सम्प्रेषण गरेपछि उसले नेपालको एलआईसी नेपाल र भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स फरक फरक भएको भन्दै विज्ञप्ति निकालेर स्पष्टिकरण दिएको थियो ।
पार नलागेपछि प्रहरीमा उजुरी
सबै अस्त्रहरु असफल भएपछि भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साइवर क्राइम अन्तर्गत पत्रकार शोभराज बरालविरुद्ध मुद्धा दायर गरेको छ । महानगरिय अपराध महाशाखामा गएर कम्पनीका सचिव विनोद भुजेलले उजुरी दिएको हुनसक्ने बुझिएको छ । यद्यपी कसरले मुद्धा हालेको भनेर प्रहरीले नाम खुलाएको छैन् ।
पत्रकार बराललाई प्रहरीले टेलिफोन गरि उजुरी परेको जनाएको छ । सामाजिक संजालमा विभिन्न खालका अफवाह फैलाइएको भन्दै उजुरी परेको बताइएको छ । तर नेपालको संविधानले नै समाचारसँग सम्बन्धित सबै प्रकारका सामग्रीको बारेमा सम्बन्धित पक्षलाई चित्त नबुझेमा समाचार संस्थाहरुको सर्वोच्च निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने व्यवस्था गरेको भएपनि उक्त कम्पनीले नेपालको कानुनको उल्लङ्घन गरेर आफ्नो कम्पनीमा भारतीय नागरिकलाई भर्ती गरेझैं नेपालको संविधानलाई नै चुनौती दिनेगरी प्रहरी कहाँ उजुरी दिएको छ ।
जुन एलआईसी नेपालको एकपछि अर्को कानुन तथा संविधानको ठाडो उल्लङ्घन हो । मिडियामा आएको सामग्री गलत हो भन्ने लागेमा प्रहरीमा होइन् प्रेस काउन्सिलमा मुद्धा हाल्नुपर्ने कानुनी प्रावधान हुँदा हुँदै प्रहरीले सो मुद्धा दर्ता गर्ने वा कारबाही प्रक्रिया अगाडी बढाउन नमिल्ने प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले बताए । यदी प्रहरीले यो मुद्धा अगाडि बढाए संविधानले व्यवस्था गरेको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता माथिको ठाडोे हस्तक्षेप हुने अधिवक्ता कार्कीको भनाई छ ।
भारतीय सरकारी बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनले ५५ प्रतिशत शेयर रहेको एलआइसी नेपालमा भारतले आफ्नो एउटा शाखा कार्यालय जस्तो गरि व्यवहार गर्दै आएको कछ । जुन राष्ट्रवादी नेपालीका लागि स्वीकार्य हुनसक्दैन् । मोटिभेट न्यूज डटकमले कुनैपनि हालतमा बदमासी गर्ने कम्पनीसँग सम्झौता गर्ने छैन । कम्पनी भित्रका गम्भीर किसिमका काण्डहरु एक पछि अर्को गर्दै जस्ताको तस्तै पर्दाफास गर्दै जानेछ ।
यो पनि पढ्नुहोस्
१) नेपालमा भ्रम छर्दै भारतीय बीमा कम्पनी, यस्तो छ नेपाली लुट्ने एलआइसीको नयाँ धन्दा
२) भारतीय बीमा कम्पनीको नेपालमा लुट, बीमा समितिलाई झुक्याएर ठगी
३) एलआइसीको ‘जीवन बचत बीमा योजना’मा ‘त्रुटि’ नै ‘त्रुटि’
४) एलआइसी नेपालमा जीवन बीमा गर्दै हुनुहुन्छ ? पख्नुहोस… फस्नुहोला !
५) जनताको प्रश्न : एलआइसी बन्द भए हाम्रो बीमा के हुन्छ ?
६) एलआइसी काण्ड : आफ्नो बदमासी ढाकछोप गर्न विज्ञप्तिको नाटक (विज्ञप्तिसहित)
