इतिहासमा आज : कक्षाकोठामा गोलीबारी, ३२ जनाको मृत्यु
एजेन्सी – आज १६ अप्रिल । सन् २००७ मा अमेरिकास्थित भर्जिनिया पोलिटेक्निक इस्न्टिच्युट एन्ड स्टेट युनिभर्सिटीमा २३ वर्षीय विद्यार्थी सिउङ हुई चोले अन्धाधुन्ध बन्दूक चलाउँदा ३२ जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए ।
दक्षिण कोरियाली मुलका यी अमेरिकी विद्यार्थीले बिहान ७ बजेर १५ मिनेट जाँदा क्याम्पस परिसरमै एक युवती र त्यही बस्ने कर्मचारीमाथि गोली हानेका थिए । यसपछि उनी त्यहाँबाट फरार भएका थिए ।
घटनास्थलमा छानबिन गर्न आएको प्रहरीले बन्दूकधारीको पहिचान गर्न सकेन, त्यसैले सुरुमा ती युवतीका प्रेमीमाथि शंका ग¥यो । यसैबीच ९ बजेर ४० मिनेट जाँदा उनी थप हतियार बोकेर कक्षाकोठा भवनमा आए । उनीसँग ९ मिलिमिटरको ह्यान्डगन, २२ क्यालिबरको ह्यान्डगन र सयौँ राउन्ड हान्न सक्ने गोली थियो ।
कक्षाकोठा भवन छिर्ने मुख्य ढोकाहरु बन्द गरेपछि उनी गोली चलाउँदै एक कक्षाकोठाबाट अर्को कक्षामा जान थाले । झन्डै १० मिनेटसम्म विद्यार्थीबीच भागदौड मच्चियो । अन्त्यमा यी विद्यार्थीले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरे ।
यी विद्यार्थी त्यसअघि कक्षामा कमै बोल्ने गरेको र उनमा मानसिक समस्या रहेको अनुसन्धानबाट खुल्यो । उनलाई म्युटिजम, डिप्रेसनलगायतको बिरामी रहेको र उनले यसका लागि थेरापी लिइरहको र विशेष शिक्षा पनि लिइरहेका थिए । प्रहरी अनुसन्धानअनुसार दक्षिण कोरियामा जन्मिएर सन् १९९२ मा परिवारसँगै अमेरिका छिरेका यी युवाले त्यसअघि कसैमाथि पनि हमला गरेका थिएनन् ।
घटनाले ठूलो अन्तर्राष्ट्रिय मिडिया कभरेज पाएको थियो । यसले अमेरिकामा हतियार कानूनबारे ठूलो बहस सृजना गरेको थियो । त्यस्तै, अमेरिकामा मानसिक समस्या भएका बिरामीहरुको उपचार गर्ने व्यवस्थाको बारेमा पनि प्रश्न उठाइएको थियो ।
अमेरिकी इतिहासमा विद्यालयमा भएको यो सबैभन्दा ठूलो गोलीकाण्ड थियो ।