डाक्टरलाई कुटपपिट गर्ने डिएसपी निलम्वित

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – काठमाडौंको त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई कारवाही गरिएको छ । घटनामा संलग्न रहेको आरोप लागेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाएर कारवाही गरिएको छ ।

उनीसँगै उक्त कार्यमा संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । यसअधि घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेर छानविन थालिसकेको छ ।

बुधबार राति डाक्टर शम्भु खनाल, डाक्टर तेजप्रकाश साह र डाक्टर विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानबिन समिति गठन गरिएको हो ।