एसईई परीक्षा कहिले ? सरकार यस्तो भन्छ

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – सरकारले एसईई परिक्षा लकडाउन खुलेको ३ हप्तामा पछि गर्ने जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि झण्डै पाँच लाख विद्यार्थी अन्योलमा छन् ।

परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

निजी विद्यार्थीहरुको छाता संगठन प्याब्सनले भने लकडाउन खुलेको १० दिनपछि एसईई परीक्षा गर्न सकिने राय दिएको छ । विद्यार्थीहरुले परीक्षाको तयारी गरिरहेको अवस्थामा अघिल्लो दिन मात्र परीक्षा स्थगित भएको भन्दै प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘अहिले पनि उनीहरु परीक्षाको तयारीमा नै छन् । त्यसैले लकडाउन खुलेको १० दिनमा परीक्षा गराउन सकिन्छ ।’

अन्तरष्ट्रिय प्रचलन अनुसार आन्तरिक मूल्यांकनकै आधारमा एसईईको रिजल्ट घोषणा गर्ने सकिने भए पनि नेपालको हकमा यो विश्वसनीय नहुने हो कि भन्ने प्याब्सनको आशंका छ ।

परीक्षा कहाँ गराउने ?

परीक्षा नियन्त्रण कार्यालयले बुधबार मात्रै ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेखेको छ । पत्रमा दैनिक जनजीवन सामान्य भएपछि परीक्षा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको भन्दै आफ्नो जिल्लाका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु सामान्यतया घरबाट आते–जाते गर्न सक्ने र सुरक्षाको व्यवस्था भएको नजिकको अर्को विद्यालयमा गएर परीक्षा दिने व्यवस्था गर्न कतिवटा परीक्षा केन्द्र थप चाहिन्छ भन्ने कुरा तीन दिनभित्र जानकारी गराउन भनिएको छ ।

यो पत्रअनुसार परीक्षा नियन्त्रण कार्यालयको तयारी अहिलेसम्म नजिकको विद्यालयमा परीक्षा केन्द्र बनाउने देखिन्छ ।

तर, यसमा प्याब्सनले असहमति जनाएको छ । यसो गर्दा सामाजिक दुरी कायम गर्न नसकिने भन्दै प्याब्सनका अध्यक्ष पुरीले भने, ‘सरकारले विद्यालयहरुलाई विश्वास गर्नुपर्छ र जुन विद्यालयमा अध्ययन गरेका छन्, त्यही परीक्षा दिन पाउने व्यवस्था मिलाउनुपर्छ ।’