स्वास्थ्य सामग्री खरिदका लागि निजी कम्पनीसँग अर्को सम्झौता
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि नयाँ सम्झौता गरेको खुलेको छ । स्वास्थ्य सेवा विभागले विहिबार तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको खुलेको छ ।
स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको विभागले बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।
कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विहीबार खरिद सम्झौता गरेका हुन् ।
‘सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन्’ श्रेष्ठले भने ।
सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । महानिर्देशक श्रेष्ठका अनुसार खरिद प्रकियामा चासो देखाएर पाँचवटा कम्पनी आएका थिए ।
निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।
सेनिटाइजर र आइआर थर्मोमिटर खरिदका लागि छुट्टै सम्झौता हुनेछ । उनले भने ‘अहिले यो साताभित्रमै करिब करिब १ लाख जति होल सेटमा पीपीई आउने हो ।’