एनएमवि बैंकलाई कारवाही गर्न माग गर्दै राष्ट्र बैंकमा उजुरी

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौँ – गैरकानुनी काम गरेको भन्दै एनएमबि बैंक विरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा उत्पादनशिल/तोकिदिएका क्षेत्रमा गरेको कर्जा लगानीको विवरण राष्ट्र बैंकमा बुझाउँदा फर्जी विवरण बुझाएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो ।

सूचना अभियान्ता अंगराज भारतीले बैंकले कर्जा स्वीकृत नै नगरेर कर्जा स्वीकृत गरेको भनि नियमक निकायलाई विवरण पठाएको भन्दै उक्त विवरणमाथि अध्ययन गरी कारवाही गर्न माग गरेका हुन् । बैंकले उपलब्ध गराएको विवरण अनुसार २०७७ मंसिर मसान्तसम्म साना, घरेलु तथा मझौला उद्योग क्षेत्रमा बैंकले जम्मा रु. ३००३.८१ (रु. दश लाखमा) मात्र कर्जा प्रवाह गरेको थियो । सो कर्जा पुष मसान्तसम्म आईपुग्दा बढेर रु. १३७१०.१४ (रु. दश लाखमा) पुगेको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

एक महिनाको अवधिमा करिब १०७०६.३३ (रु. दश लाखमा) ले कर्जा बढेको भन्दै यसरी एउटै शिर्षकमा कर्जा प्रबाह गर्न असम्भव भएको भारतीको भनाई छ । नेपाल राष्ट्र बैंकले अध्ययन नै नगरी बैंकले जे पठायो त्यही विवरणको आधारमा प्रतिवेदन प्रकाशित गरेको भन्दै बैंक सुपरीवेक्षण विभाग प्रमुख डेपुटी गभर्नर बमबहादुर मिश्र कहाँ उजुरी परेको हो ।

भारतीले सुपरीवेक्षण विभागका अन्य कर्मचारीको पनि मिलेमतो भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । ‘गल्ती जो कसैबाट भएको होस् सो गल्तीलाई स्वीकार गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९०, ९५ र बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा ५०, ५३, ५५, ५८ र १०३ ले गरेको व्यवस्था विपरीत कार्य गरेकोले दुबै ऐनले गॅरेको व्यवस्था अनुसार बैंकलाई हदैसम्मको कारवाही गरी सो को जानकारी मलाई पनि उपलब्ध गराउन एउटा सचेत नागरिक तथा बैंकको शेयर धनीको हैसियतले हार्दिक अनुरोध गर्दछु ।’ भारतीद्वारा दर्ता गरिएको उजुरीमा भनिएको छ ।

उजुरीका सम्बन्धमा नेपाल राष्ट्र बैंकले अध्ययन अगाडि बढाएको जनाएको छ । डेपुटी गभर्नर तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख बमबहादुर मिश्रले उजुरी अध्ययन गरी विभागलाई अनुसन्धानका लागि पठाएको बताए । ‘म कहाँ विभिन्न बैंकले गलत विवरण बुझाएको भनेर पत्रहरु आएका छन् । मैले अध्ययन गरेर थप अनुसन्धानका लागि विभागमा पठाएको छु ।’, मोटिभेट न्यूजसँगको टेलिफोन संबादमा मिश्रले भने, ‘अध्ययन पछि आएको रिपोर्टका आधारमा हामी कारवाही अगाडि बढाउँछौँ ।’

मिश्रले नेपाल राष्ट्र बैंकले अध्ययन गरेर मात्र विवरण प्रकाशन गर्दै आएको बताए । ‘नेपाल राष्ट्र बैंकले बैंकहरुले पठाएको विवरण अध्ययन गरेर मात्र प्रकाशन गर्ने गरेको छ । एक–एक फाइल अध्ययन गरेर हामीले प्रमाणित भएपछि मात्रै विवरण प्रकाशन गछौँं ।’, उनले भने, ‘मसिनो गरी अध्ययन गर्दा पनि केही त्रुटी भएको रहेछ भने त्यही अनुसार कारवाही हुन्छ ।’

उजुरीका विषयमा एनएमवि बैंकले भने असन्तुष्टि जनाएको छ । बैंकका उप–प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुदेश उपाध्यायले अंगराज भारतीले लामो समयदेखि बैंकका विरुद्धमा गतिविधि गरिरहेको भन्दै विवरणमा कुनै शंका नगर्न आग्रह गरे ।

‘हाम्रो पछि उहाँ विगत दुई बर्षदेखि लागिरहनु भएको छ । उहाँले बैंकका विरुद्धमा गरेका गतिविधिहरुलाई लिएर हामी उहाँ विरुद्ध अदालत जाने तयारीमा छौँ ।’ उनले भने । बैंकले उक्त समयमा गरेको कुल कर्जा लगानीभन्दा उत्पादनशील क्षेत्रमा गरेको लगानी ३ अर्बले बढी देखिएको छ । तर राष्ट्र बैंकले यस विषयमा अध्ययन नै नगरी विवरण प्रकाशन गरेको थियो ।

थप जानकारीका लागि यो पनि पढ्नुहोस्,