आईएमईको लाइसेन्स एक्स्पायर, कारोबार गर्न मिल्छ ?
काठमाडौँ – चन्द्र ढकाल आजीवन अध्यक्ष रहेको आईएमई लिमिटेडको इजाजतपत्र (लाइसेन्स) को म्याद सकिएको छ । आईएमईको इजाजतपत्रको म्याद आजैका दिनबाट सकिएको हो ।
२०७८ साल मंसिर २९ गते एक बर्षका लागि नविकरण भएको आइएमईको म्याद आजै सकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । लाइसेन्सको नविकरणको म्याद सकिए पनि आईएमईले एक महिनासम्म कारोबार गर्न छुट पाउने राष्ट्र बैंकले जनाएको छ । १ महिनाभित्र पुनः नविकरणका लागि आवेदन दिए लाइसेन्स नविकरण हुनेछ ।
आईएमईले एक महिनाभित्र नविकरण नगरे ४ सय प्रतिशत जरिवाना पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘एक महिनाभित्र नविकरण भइसक्नु पर्छ ।’, नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका एक कर्मचारीले भने, ‘एक महिनाभित्र नविकरण गर्न नआए ४ सय प्रतिशत जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान छ ।’
यता आईएमईले इजाजतपत्रको म्याद सकिएको बारे जानकारी नभएको बताएको छ । आईएमईका जनसम्पर्क अधिकृत राजु पौडेलले नविकरणको म्याद सकिएको बारेमा जानकारी दिँदा आश्चर्य प्रकट गरे । ‘म विवाहको कार्यक्रममा छु । मलाई लाइसेन्सको म्याद सकिएको बारेमा जानकारी भएन । यो लिगल डिपार्टमेन्टसँग सम्बन्धित विषय भएकाले बुझेर खबर गर्छु ।’
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ४१ वटा रेमिट्यान्स कम्पनीमध्ये १६ वटा कम्पनीको म्याद सकिएको छ । म्याद सकिने कम्पनीमा हाम्रो पात्रो रेमिट, पे सेफ रेमिट, नमस्ते रेमिट इन्टरनेशनल, हब रेमिट, गुडविल रेमिट, ओभरसिज रेमिट, इसारा रेमिट, ललित मनिट्रान्फर, संसारा रेमिट, नेशनल रेमिट्यान्स, क्यास वे मनिट्रान्फर, टायम रेमिट, माया रेमिट, सेवा रेमिट, हुलास रेमिट रहेका छन् ।