चन्द्र ढकाललाई कारवाही गर्न माग गर्दै राष्ट्र बैंकमा उजुरी

सोमबार, १८ पौस २०७९

काठमाडौँ – ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाललाई कारवाही गर्न माग गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । पत्रकार शोभराज बरालले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त दुई वटा संस्थामा संचालक समिति अध्यक्ष बनेर ढकालले एकीकृत निर्देशनको उल्लंघन गरेको भन्दै गभर्नरको कार्यालयमा उजुरी गरेका हुन् ।

ढकाल नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ विपरित ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडमा अध्यक्ष भएर काम गरिरहेका छन् । एकीकृत निर्देशन २०७८ को ई.प्रा ६/२०७८ को बुँदा १ को उपबुँदा ३ र १२ अनुसार दुई वटा संस्थाको अध्यक्ष बन्न पाइदैन ।

एकीकृत निर्देशनको उल्लंघन गरेको भन्दै बरालले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ अनुसार ढकाललाई कारवाही गर्न माग गरेका छन् । बरालले ऐनको दफा (९९) को उपदफा (३) र दफा (१००) को (२) कोअनुसार कारवाही गरी सोको जानकारी आफूलाई पनि गराउन अनुरोध गरेका छन् । उक्त दफामा बैंकलाई राष्ट्र बैंकले संचालक समिति अध्यक्षलाई बर्खास्त गर्नका लागि निर्देशन दिनसक्ने व्यवस्था छ । बैंकले निर्देशन अनुसार पदबाट बर्खास्त नगरे ऐनको धारा (१००) को (२) अनुसार राष्ट्र बैंकले १० लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान छ ।

पत्रकार बराल बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको बदमासी र जालसाँझीका विषयमा कलम चलाउँदै आइरहेका छन् । बरालले आइतबार ‘चन्द्र ढकाल ग्लोबल आईएमई बैंकको अवैध अध्यक्ष, राष्ट्र बैंकले गर्न सक्ला त कारवाही ?’ शिर्षकमा समाचार लेखेका थिए ।