चन्द्र ढकालको नाक काटियो, ग्लोबल आइएमई बैंकले तिर्यो आजसम्मकै धेरै जरिवाना
काठमाडौं – ग्लोबल आईएमई बैंक सोमबारबाट देशकै ठूलो बैंक बनेको छ । ठूलो बैंकको उद्घाटन कार्यक्रममा देशकै कार्यकारी प्रमुखलाई उपस्थित गराएर नाक ठूलो बनाएका बैंकका अध्यक्ष चन्द्र ढकालको भोलीपल्दै नाक काटिने गरी समाचार प्राप्त भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालको बैंकलाई महानगरपालिकाले नाक काटिने गरी कारवाही गरेको छ ।
बैंकले सडकमा जथाभावी फोहोर फालेको भन्दै जरिवाना तिराएर महानगरले कारवाही गरेको हो । बैंकले अहिलेसम्मकै धेरै ५ हजार रुपैयाँ जरिवाना तिरेको महानगरपालिकाले जनाएको छ । पुरानो बसपार्क नजिकै आदर्शनगरमा रहेको बैंकको शाखाले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिवाना गराइएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।
फोहोरको प्रकृती र मात्राको आधारमा जरिबाना गर्ने गरिएको भन्दै खेतानले ग्लोबल आईएमई बैंकले आजसम्म धेरै फोहोर फालेको पाइएपछि आजसम्मकै सबैभन्दा धेरै जरिवाना तिराएको बताए । पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि जरिबाना गराईएका महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले बताए ।
‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो,’ उनले भने, ‘तर पनि अटेर गरेपछि बाध्य भएर जरिबाना तिराउन थालेका हौँ ।’
बैंकले भने आफूलाई जरिवाना तिराएको बारे जानकारी दिन आनाकानी गरेको छ । बैंकको आदर्शनगरस्थित शाखाका शाखा प्रबन्धक विवेक टिब्रेवालले आफू अडिटमा व्यस्त भएकाले यस बारेमा जानकारी नभएको बताए । ‘मैले यस बारेमा बुझ्न पर्छ । भोलीमात्रै तपाईँलाई जनाकारी दिन सक्छु ।’, उनले भने, ‘समाचारै बनाउन पर्ने विषय त यो होइन । सकेसम्म समाचार नबनाउँदा राम्रो होला नी ! म तपाईँलाई भोली के कसो भएको हो जानकारी गराउँला हुँदैन ?’ तर बैंकका अर्का एक कर्मचारीले भने जरिवाना तिरेको पुष्टि गरे ।
अहिले दैनिक जसो वित्तीय संस्था र पसललाई जरिवाना तिराइँदै आएको छ । महानगरले आजै, शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ र महालक्ष्मी फ्लावर पसललाई ५ सय रुपैयाँ पनि जरिबाना तिराएको छ । सोमबार मात्रै कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिबाना तिराइएको थियो । महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।अहिले नगर हरियाली र सफा बनाई राख्न सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने कामका साथसाथै वृक्षारोपण गर्ने काम चलिरहेको छ ।
समानान्तर सरकारको अभ्यास गरिरहेको उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षको बैंकलाई फोहोर गरेको भन्दै कारवाही गर्नु लज्जास्पद विषय हो । आफैले सरसफाईमा जोड दिदै फोहोर व्यवस्थापनमा लाग्नुको सट्टा फोहोर गरेको भन्दै कारवाहीमा पर्ने कुरा ढकालका लागि चानचुने होइन ।
‘लाज पनि लजाउने’ गरी गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त दुई वटा संस्थाको अध्यक्ष भएर काम गरिरहेका ढकाललाई ५ हजार जरिवानाले के छुन्थ्यो होला र ? शत्ताको, शक्ति र पैसाले मात्तिएका ढकाललाई नियामक नेपाल राष्ट्र बैंकले पनि छुन सकेको छैन । राष्ट्र बैंकले ढकाललाई गैरकानुनी काम गरेको भन्दै दण्डित गर्नुको सट्टा पुरस्कृत गर्दै आएको छ ।
ढकाल आफै खराव नभए पनि केही खराव व्यक्तिको ‘चाप्लुसी’ र ‘जि हजुरी’ का कारण दिन प्रतिदिन बदनाम बन्दै गइरहेका छन् । निकै ठूलो हण्डर ठक्कर खाँदै संघर्षको एउटा उचाईँमा पुगेका उनलाई उनका नजिकका कर्मचारीले बेला मौकामा फसाउँदै अफ्ठ्यारोमा पार्ने गरेका छन् ।