मोटिभेशनल आर्टिकल कम्पिटिसनको अन्तिम नतिजा आज, आजै पुरस्कार वितरण गरिने
काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘मोटिभेशनल आर्टिकल कम्पिटिसन’को अन्तिम नतिजा आज प्रकाशन हुने भएको छ । आज दिउसो २ बजे होटल हार्दिक बागबजारमा एक कार्यक्रमका बिच नतिजा प्रकाशन गरि पुरस्कार वितरण गरिनेछ ।
इमेलमार्फत आएका २५७ वटा लेखहरुबाट उत्कृष्ट १० वटा लेख छनोट गरिएको थियो । उत्कृष्ट १० वटा लेखका लेखकलाई लेख बाचन गर्न लगाउने र उनीहरुको प्रस्तुतिका आधारमा नतिजा प्रकाशन गरिने आयोजनले जनाएको छ । सहभागीहरुले आफ्नो प्रस्तुति भौतिक रुपमा उपस्थित भएर र भर्चुअल माध्ययमबाट पनि दिन सक्ने मोटिभेट न्यूज डटकमका अध्यक्ष तथा कार्यकारी सम्पादक शोभराज बरालले बताए ।
कार्यक्रममा समाजसेवी, पर्याटन व्यवसायी, मोटिभेटर, लेखक तथा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यको प्रमुख आतिथ्यता रहने बताइएको छ । प्रतियोगिताको जजका रुपमा चर्चित मोटिभेटर रविन कटुवाल र मोटिभेटर तथा अग्रेजी विषयका प्रध्यापक अशोक कुमार दाहाल रहेका छन् । प्रतियोगितामा उत्कृष्ट ४ जनालाई पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोश्रो हुनेले ७५ हजार, तेश्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कर्ण शाक्यले पनि पुरस्कार दिने बताइएको छ । प्रतियोगितामा अस्ट्रेलियाको अस्ट्रेलियन हार्वर अन्टरनेशनल कलेज, वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, क्यापिटल स्टडि अब्रोड, क्यानडाको युनिभर्सिटी अफ क्यानडा वेस्ट, इन्फरमेटिभ एजुकेशन, कनेक्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी, हब इन्टरनेशनल एजुकेशनल, ओसिस अब्रोड स्टडि एण्ड भिसा सर्भिसेस् र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कार्यक्रम सफल पार्न सहयोग गरेका छन् ।