बीर अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै
काठमाडौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गत सामाजिक सेवा इकाईबाट प्रदान गरिने सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । वीर अस्पताल अन्तर्गत विभित्र विपन्न तथा असहाय नागरिकलाई निशुल्क रूपमा दिइने सेवाबारे प्रचारप्रसार हुँदै गएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको हो ।
यसरी निशुल्क सेवा लिनेको सङ्ख्या प्रतिदिन १ सय ५० सम्म पुग्ने गरेको सामाजिक सेवा इकाई, वीर अस्पतालका प्रमुख अर्जुन भेटवालले जानकारी दिए । मोटिभेट न्युज डटकमसँगको भेटमा भेटवालले सामाजिक सेवा इकाई के हो, यसले के कसरी सेवा दिन्छ, क–कसले यसबाट सेवा लिन सक्छन् भन्नेबारे जानकारी दिदै भने, ‘सामाजिक सेवा इकाई भनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भर्टिकल प्रोग्राम हो। यो आर्थिक, सामाजिक हिसाबले पछाडि परेका नागरिकहरुको स्वास्थ्य सेवामा सहज पहुँच वृद्धि गर्नका लागि व्यवस्था गरिएको संस्थागत व्यवस्था हो । यसमा जम्मा १२ ओटा लक्षित वर्गहरु रहेका छन ।’
गरिब ,असहाय, जेष्ठ नागरिक, बालबालिका, महिला स्वयंसेविका, जनयुद्ध र जनआन्दोलनका घाइतेहरू लक्षित वर्गमा पर्ने उनको भनाई छ । ‘देशका ७७ जिल्लाका ८८ ओटा स्थानमा यस्ता फोकल प्वाइन्टहरु स्थापना गरिएका छन र यसमा एकद्वार प्रणालीबाट बाटो भुलिएका, अस्पतालद्वारा प्रदान गरिने सेवा नजान्नेहरु, पैसा नभएकाहरु, गरिब तथा बेवारिसे बिरामीहरुको सहज पहुँचका लागि विभिन्न किसिमका सेवाहरु जस्तो स्वास्थ्य बिमाका कार्यक्रम, विपन्न नागरिकको उपचार कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।’, उनले भने, ‘यसका अलावा बिरामीहरुलाई सहजीकरण गर्ने कुरा , हेल्प डेस्क सञ्चालन, कर्मचारीको स्वास्थ्य बिमा, सेवा प्रवाहिकरणमा सहजीकरण गर्ने कुरा र प्रारम्भिक चरणको निशुल्क र आकस्मिक कार्यक्रम सहजीकरण गर्ने कामहरू हामीले गर्छौं ।’
कुराकानीको क्रममा उनले अस्पतालबाट दिइने सेवा सुबिधाको प्रक्रिया र विरामीहरुले पाउने सेवाबारे अगाडि भने, ‘सामाजिक सेवा इकाईमार्फत सेवा प्राप्त गर्नका लागि सामाजिक सेवा इकाई सञ्चालन निर्देशिका भनेर मन्त्रालयले जारी गरेको छ । त्यसकै आधारमा अनुसूची ३ र ४ बनाइएको छ । त्यो अनुसूचीका आधारमा विरामीको आर्थिक सामाजिक अवस्थाको मुल्यांकन गर्छौं । त्यसका आधारमा विरामीलाई दिनुपर्ने सुबिधा, सहुलियत वा छुट के कसरी गर्ने भन्ने निर्णय गर्छौं ।’
तथ्यांकले देखाए अनुसार गत साल ५ लाख जना सेवाग्राही आएका मध्ये १ लाखले सामाजिक सेवा इकाईबाट सेवा लिएको भेटवालको भनाई छ । ‘अघिल्लो वर्ष ५ लाख सेवाग्राहीले सेवा लिएकोमा १ लाखले सामाजिक सेवा इकाईबाट सेवा लिएका छन् । यसमा करिब ७ करोड खर्च भएको देखिन्छ ।’, उनले भने, ‘अहिले बिरामीको सहज पहुँचलाई ध्यान दिएर सेवा सुचारु गरेपछि त्यो सङ्ख्या वृद्धि भएको छ । अहिले दैनिक १ सय ५० जना वा महिनामा ४ हजार ५ सय जनाले वीर अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिइरहेको स्थिति देखिन्छ ।’