हाकिम पक्राउ परेकै दिन प्रभु बैंकले फिर्ता गर्यो खाताबाट हराएको ७० लाख

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं – कर्जा अपचलन गरेको भन्दै बैंकका हाकिम पक्राउ परेकै दिन प्रभु बैंकले बैंकबाट हराएको ७० लाख फिर्ता गरेको छ । बैंकको रूकुम पश्चिमको शाखाबाट एक कर्मचारीले हिनामिना गरेको झन्डै ७० लाख रकम बैंकले आज फिर्ता गरेको छ। आजै बैंकको डेपुटी सिईओ मनो न्यौपाने कर्जा अपचलन गरेको आरोपमा पक्राउ परेका थिए ।

बैंकको आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज निरजविक्रम शाहले हिनामिना गरेकोमध्ये ७० लाख जति रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले बताए। ‘हामीले प्रारम्भिक अनुसन्धान गर्दा पीडित देखिन आएका १४ जनाको ७० लाख जति रकम बैंकले फिर्ता गरिरहेको छ,’ तिमिल्सिनाले भने, ‘अब हामीकहाँ रेकर्ड रहेका थप पीडितको विवरण उपलब्ध छैन । अब थप निवेदन आए भने हेरौंला के हुन्छ।’

आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज शाहले अन्य केही स्थानीयसँग रकम जम्मा गरिदिने भन्दै व्यक्तिगत रूपमा लिएको भनिएको पैसाबारे बैंक जवाफदेही हुन नसक्ने अर्का एक कर्मचारीले बताए। बैंकमा जम्मा भई अपचलन भएको बाहेक व्यक्ति विशेष जम्मा गरिदिनु भनेको भए पनि त्यस्ता पीडितलाई बैंकले पैसा फिर्ता गर्ने आधार नहुने उनले दाबी गरे।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा फरार शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको भन्दै बैंकको तर्फबाट उजुरी परेको थियो । शाहले धेरै बचतकर्तालाई विश्वासमा पारेर र नियबस झुक्याएर रकम बैंकमा जम्मा नगरी आफूसँगै राखेर फरार भएको अनुमान गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट पीडित देखिएकामध्ये १४ जना ग्राहकको रकम उनीहरूकै खातामा बैंक आफैंले आइतबार जम्मा गरिदिएको थियो। बैंकका अपरेसन इन्चार्ज शाहले बैंकका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्नुका साथै अन्य खातामा सारेको पाइएको छ। आरोपित शाह हालसम्म फरार छन्। उनी छिमेकी देश भारतमा लुकीछिपी बसेको अनुमान प्रहरीको छ।

वचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको अभियोगमा प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको छ ।