त्रिविका परीक्षा नियन्त्रक जोशीको अस्वभाविक हर्कत, परीक्षा केन्द्र मिलाउन मोटो रकम असुली

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं – त्रिभूवन विश्वविद्यालयमा परीक्षा नियन्त्रक पुष्पराज जोशीले निजी कलेज संचालकसँग मोटो रकम लिएर अस्वभाविक रुपमा परीक्षा केन्द्रहरु परिवर्तन गरेको आरोप लागेको छ । आजबाट सुरु भएको बि.बि.एस चौथो बर्षको परीक्षाका लागि परीक्षा केन्द्रहरुको नियमित सूची सार्वजनिक भएको २४ घण्टापछि जोशीले अस्वभाविक रुपमा परीक्षा केन्द्रहरुको अर्को सूची सार्वजनिक गरेपछि यस्तो आरोप लागेको हो ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ४ बर्षे स्नातक तह बि.बि.एस चौथो बर्ष २०८० नियमित तर्फको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका केन्द्रहरुको सूची जेठ २७ गते सार्वजनिक गरेको थियो । उक्त सूचीमा २ सय २१ वटा विद्यालयका विद्यार्थी सहभागी हुने र २२ वटा केन्द्रहरु रहने उल्लेख थियो । यो सूची सार्वजनिक भएपछि शैक्षिक माफियाहरुको धोड्धुप सुरु भयो । जसकारण २४ घण्टा नपुग्दै कार्यालयले परीक्षा केन्द्र यतावत राख्दै केही कलेजहरुले सेन्टर परिवर्तन गरेर अर्को सूची सार्वजनिक गर्यो ।

जुन सूचीमा ५ वटा कलेजहरु थपिएका छन् भने एउटा कलेज सूचीबाट हटाइएको छ । आजविहान ७ बजेदेखि सुरु भएको परीक्षामा २ सय २५ वटा क्याम्पसमा अध्ययनतर विद्यार्थीको सहभागिता रहेको छ । छुटेका ५ वटा क्याम्पस अर्को सूचीमा समावेस हुनु र विद्यार्थी नै नभएको अर्को क्याम्पस सूचीबाट हराउन सामान्य विषय भएपनि अघिल्लो सूचीमा समावेस भएका क्याम्पसको परीक्षा केन्द्र परिवर्तन हुनु असामान्य विषय हो ।

चावहिलको विनायक सिद्ध कलेज र सुकेधाराको ब्रुकलिन कलेजको सेन्टर अस्वभाविक रुपमा परिवर्तन भएपछि परीक्षा नियन्त्रकमाथि गम्भीर प्रश्न उठेको छ । विनायक सिद्ध कलेजको सेन्टर पहिलो सूचीमा लुम्विनी कलेजमा राखिएको थियो । विनायकको बि.बि.एस दोश्रो बर्षको परीक्षा केन्द्र पनि लुम्बिनीमा नै परेको थियो । उक्त परीक्षामा विनायक कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडाले खुकुलो गर्न कलेज प्रशासनलाई अनुराेध गरेका थिए । उनकाे अनुराेधलाई कलेज प्रशासनले अस्विकार गरेपछि चिढिएका थिए । फेरी पनि लुम्बिनीमा केन्द्र पर्दा परीक्षा टाइट हुने डरले उनले रातारात केन्द्र सार्न चलखेल गरेका हुन् ।

लुम्बिनीमा आफूले सोचेजस्तो सेटिङ गर्न नपाएपछि विनायक सिद्धी कलेजका प्रिन्सिपल राककृष्ण सिमखाडाले रातारात परीक्षा नियन्त्रक जोशीलाई सम्पर्क गरी सेटिङ मिलाएको श्रोतको दावि छ । यसअघि विनायक सिद्ध कलेजमा सेन्टर परेको बु्रकलिनको पुस्पलाल मेमोरियल कलेजमा परिवर्तन भएको छ भने विनायक सिद्धको बु्रकलिनमा परेको छ । रमाइलो कुरा के छ भने फेरी पुस्पलालको सेन्टर विनायक सिद्धी कलेजमा परेको छ ।

‘विनायकले पुप्पलालका विद्यार्थीको परीक्षामा कडा नगर्ने, बु्रकलिनले विनायकमा विद्यार्थीको परीक्षा खुकुलो गरिदिने र पुस्पलालले बु्रकलिनका विद्यार्थीलाई सहजिकरण गरिदिने भद्र सम्झौता भएको छ ।’, श्रोतले भन्यो, ‘यो परीक्षा नियन्त्रक पुष्पराज जाृेशीको भ्रष्ट चरित्र र विनायक कलेजका प्रिन्सिपल रामकृष्ण सिमखाडाको सेटिङका कारण सम्भव भएको हो । यस्तो सेटिङ गर्नमा सिमखाडा च्याम्पियन छन् ।’

सिमखाडाले भने कुनै सेटिङमा परीक्षा केन्द्र परिवर्तन नभएको बताए । ‘यो परीक्षा केन्द्रहरुको छनोट गर्ने जिम्मा त्रिविको हो । हामीलाई यसबारेमा केही थाहा हुँदैन ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा उनले भने, ‘हाम्रो मात्र परिवर्तन भएको छैन, मलाई लाग्छ २०/२५ वटा कलेजको सेन्टर परिवर्तन भएको हुनसक्छ । यो त सेन्टरको क्षमता र विद्यार्थी संख्याका आधारमा परिवर्तन भएको हुनसक्छ ।’ यता परीक्षा नियन्त्रक जोशीले भने यस विषयमा केही पनि बोल्न चाहेनन् । विगत ८ बर्षदेखि जोशी परीक्षा नियन्त्रकका रुपमा कार्यरत छन् ।