अरबपति सांसदले ५ हजार घुस खुवाएपछि हंगामा…

आइतबार, ६ साउन २०८१

काठमाडौं – एक अरबपति सांसदले ५ हजार रुपैयाँ घुस खुवाएपछि अख्तियारले चासा लिएको छ । अघिल्ला सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले शिक्षामन्त्रालय अन्तरगर्त सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएको बताएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो लिएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले घुस दिएर आएको बताएका हुन् । उनले भने, ‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टाचारको कुरा गछौँ ।’’

पूर्वमन्त्री तथा बहालवाला सांसद्ले आफूले घुस दिएर काम गराएको खुलासा गरेपछि अख्तियारले ‘घटना नोटिसमा रहेको’ बताएको छ । घुस लिने कर्मचारीसँगै घुस दिनेलाई समेत भ्रष्टाचार मुद्दा चलाउँदै आएको अख्तियारले यस भनाइबारे पनि छानबिन गर्ने बताएको छ ।

यसअघि अख्तियारले घुस लिने कर्मचारीसँगै घुस दिनेलाई समेत भ्रष्टाचार मुद्दामा चलाउँदै आएको थियो । विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको पनि थियो । तर, पूर्वमन्त्री तथा सांसद महतोले घुस दिएको कुरा संसदमा बताएकाले संसदमा बोलेको कुरामा कारबाही नहुन सक्ने कानुन छ । यसमा कतिपयले भने सम्बन्धित व्यक्तिको नैतिकताको कुरा भएको बताएका छन् ।

कतिपयले घुस खुवाउनेलाई पनि कारबाही नै हुनसक्ने दाबी गरेका छन् । उनी अरबपति उपेन्द्र महतोको भाई हुन् । यो परिवारबाट कहिले बहिनी जुलिकुमारी महत्व, कहिले जुवाईं रघुवीर महासेठ त कहिले भाई वीरेन्द्र मन्त्री हुँदै आएका छन् ।