पर्यटकीय सम्भावनाबोकेको सुदूरपश्चिममा लगानी गर्न मन्त्रीपाण्डेको आह्वान

शुक्रबार, १३ भाद्र २०८२

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका छन् ।

शुक्रबार सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्र सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रममा मन्त्रीपाण्डेले सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रण भएको बताउँदै लगानीका लागि आह्वान गरेका हुन् ।

उनले भने,‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्यआधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रण भएको प्रदेश हो । सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरु उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत् सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान पनि गर्दछु ।’

मन्त्रीपाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरुमार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै भने,‘हामीले यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानी मैत्री नीति बनाउनेतर्फ ध्यानदिनुपर्दछ ।’

सुदूरपश्चिमको पर्यटन विकासका लागि सूदूरपश्चिममा नेपाल पर्यटनबोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्रीपाण्डेले जानकारी गराए ।

त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे ।

उनले भने,‘हामी सुदूरपश्चिमका सम्भावनाहरुलाई लगानी सम्मेलनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौं । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीकालागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौं ।’

मुख्यमन्त्रीशाहले लगानी सम्मेलनमा सहभागीहुन र त्यहाँका सम्भावनाको अध्ययनगर्दै लगानी गर्न आह्वान गरेका हुन् ।

सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

शुक्रबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल होटलव्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुखकार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ यूविका राजभण्डारी, एनएमएका उपाध्यक्ष ठाकुर राजपाँडे, सिद्धार्थ होटल एण्ड ग्रुपअफ कम्पनीका सीईओ कृष्णन्यौपाने, टानका महासचिव रामप्रसाद सेढाई, नेपाल उद्योग परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, नाराका महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले सुदूरपश्चिममा लगानी गर्न आफूहरु तयार रहेको भएपनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिएका हुन् ।

सरकारले पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालहरुको आरोहण दुई वर्षका लागि निःशुल्क गरेको छ । सुदूरपश्चिमको पछिल्लो समय धनगढी विमानस्थलको स्तरोन्नती र कञ्चनपुर विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेको छ । छलफलमा सुदूरपश्चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको हो ।