क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

आइतबार, १५ भाद्र २०८२

काठमाडौं—टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा उपचारकै क्रममा मृत्यु भएपछि उनकी श्रीमतीसहित चार छोरीको बिचल्ली भएको छ ।

श्रीमान बचाउनका लागि उपचार गर्दागर्दै चारपाँच लाख ऋण लागेको र आय आर्जन गर्ने मुल व्यक्ति नै नभएपछि परिवार चलाउनै धौ धौ परिरहेको असौजी बिकले बताइन् ।

‘कान्छी छोरी गर्भमै हुँदाश्रीमानको मृत्यु भयो । उनी अहिले चार महिनाको छिन । जेठी छोरी पाँच बर्ष, माइली तीन वर्ष र साहिली दुई बर्ष पुगिन् । उनीहरुको लालनपालनमै समस्या भइरहेको छ,’ विकले अगाडि भनिन्,‘श्रीमानको टाउकोमा सानो चोट लागेपछि बिस्तारै ठूलो घाउका रुपमा फैलियो । पछि क्यान्सर भएको थाहा भयो । उपचार गर्दागर्दै सबै सम्पत्ति सकियो । ऋण लाग्यो तर उहाँलाई बचाउन सकिएन् । चारपाँच लाख रुपैंयाँ ऋण लाग्यो ।’

छोरीहरुलाई अलपत्र राखेर काम गर्न जानपनि समस्या भइरहेको उनले सुनाइन् । ‘काम गर्न जान नपाएपछि बिहान–बेलुका छाक टार्न, छोरीहरुका लागि लत्ताकपडा किन्न नसक्दा पिरलो परिरहेको छ । श्रीमानले मजदुरी गरेरै हामीलाई पाल्नु भएको थियो । अहिले अवस्था विग्रिएको छ,’ २५ वर्षीया विकले भनिन् ।

सुत्केरी हुँदा राम्रो स्याहार नहुँदा हाल आँखा र खुट्टा सुनिने समस्या रहेको सुनाउँदै उनले भनिन्,‘छोरीहरु विद्यालय जान खोज्छन्, अरु साथी स्कुल गएको देखेपछि जाने इच्छा गर्छन् । तर किताब, कापी नहुँदा घरमै बस्न बाध्य छन् ।’

छायाँनाथ रारा नरपालिका—१० का वडा अध्यक्ष हस्त बहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे । ‘रामबहादुर विकलाई बचाउनका लागि धेरै सहयोग गरियो । तर बचाउन सकिएन् । अहिले छोरी र श्रीमतीलाई आवश्यक सहयोग जुटाउन मुस्किल भइरहेको छ । सबैले सहयोग गरिदिए उनीहरुको भविष्य राम्रो हुनेथियो,’ उनले भने ।