टाउको झुकाएर मोबाइल चलाउने बानीले निम्त्याउँछ गम्भीर स्वास्थ्य समस्या
काठमाडौं—टाउको झुकाएर मोबाइल चलाउने बानीले गम्भीर स्वास्थ्य समस्या निम्तिने चिकित्सकहरुले बताएका छन् । चीनको फुजियान प्रान्त क्वान्जाउस्थित विश्वविद्यालयमा अध्ययनरत १९ वर्षीय सियाओ डोङलाई पक्षाघात भएपछि चिकित्सकले यस्तो कुरा पत्ता लगाएका हुन् ।
डोङ फुर्सदमा मोबाइलमा गेम खेल्ने वा सामाजिक सञ्जाल हेर्ने बानीले मेरुदण्ड नजिकैको रगतको नलीमा दबाब बढेर थलिएका थिए । घाँटी, हात र खुट्टा सुन्निने समस्या देखिएको उनमा एकदिन निद्राबाट उठ्दा खुट्टा पूरै संवेदनाविहीन भई हिँडडुल गर्नै नसक्ने अवस्थामा पुगेपछि अस्पताल लगिएको थियो ।
चिकित्सकहरूले उनको मेरुदण्डको सी४टी१ खण्डमा रगत जमेको फेला पारे, जसले स्नायुमा दबाब दिँदा छातीदेखि तल शरीर लगभग पूर्ण रूपमा पक्षाघात भएको थियो।
आपत्कालीन शल्यक्रिया गरेर ब्लड क्लट हटाइएपछि स्थायी पक्षाघात टारिएको छ। हाल उनी खुट्टामा बिस्तारै नियन्त्रण फर्काउँदै छन् र पूर्ण निको हुने आशा गरिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार लामो समय टाउको झुकाएर बस्दा रगतको सञ्चार अवरुद्ध भई नसा सुन्निने, टाउको दुख्ने, थकान बढ्ने जस्ता समस्या देखिन सक्छन्। चरम अवस्थामा यसले रगतका नली र स्नायु प्रणालीमै असर पुर्याई मस्तिष्कघात वा पक्षाघातजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ।