दशैंमा थातथलो फर्किनेहरुलाई दुःखै दुःख ।
काठमाडौं—यस पटकको दशैंमा घर जानेहरुले दुःख पाउने भएका छन् । दशैं सुरु हुन केहिदिन मात्र बाँकी रहँदा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित बनेपछि थातथलो फर्किन कठिन हुने भएको हो ।
यो बर्षको असोज ६ गते घटस्थापना र १३ गते फूलपाती रहेको छ । तर, आइतबार (भदौ १५) बेलुकासम्मपनि सरोकारवालाहरु अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफलमा समेत जुटेका छैनन् ।
काठमाडौं उपत्यकाबाट मात्र दशैंका बेला १०औँ लाख मानिस आफ्नो थातथलो फर्किने गरेका छन् ।
काठमाडौं उपत्यकाबाट मात्रै दशैंका बेला १०औँ लाख मानिस आफ्नो थातथलो फर्किन्छन् । तर, सरकार र यातायात व्यवसायी हालसम्म अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफलमा समेत जुटेका छैनन् ।
यस विषयमा छलफल गर्न हालसम्म आफूहरूलाई औपचारिक जानकारी नआएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । ‘अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा हालसम्म सरकारबाट औपचारिक रुपमा छलफल बोलाइएको छैन,’ उनले भने ।
तर, छलफलका लागि आफूहरुले बोलाएको र यातायात व्यवसायीले समय निकाल्न नसकेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राईले बताए । ‘अग्रिम टिकट खुलाउने विषयमा सरोकारवालालाई बोलाएका छौँ । उहाँहरुले समय निकाल्न सक्नु भएको छैन,’ उनले जानकारी दिए ।
सरोकारवाला निकायबिच छलफल नहुँदा अग्रिम टिकट बुकिङ खुला अनिश्चित देखिएको छ । तर, विभाग चाँडै नै छलफल गरेर टुंगोमा पुग्ने दाबी गर्छ । ‘हामी चाँडै नै सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्छौँ,’ विभागका सूचना अधिकारी राईले भने । उनका अनुसार चाँडै भनेको एक दुई दिनमै यातायात व्यवसायीसहित सरोकारवालासँग छलफल हुनेछ ।
अग्रिम टिकट बुकिङ खुला हुन ढिलो भए पनि यात्रुलाई आफूहरूले गन्तव्यमा पुर्याउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्ष सिटौलाले बताए । ‘टिकट खुला हुन ढिलो भए पनि हामी यात्रुलाई गन्तव्यमा पुर्याउनेछौँ,’ उनले भने ।
तर, यसका लागि सरकारले मनसुनका कारण बिग्रिएका बाटो मर्मत गर्नुपर्ने उनको भनाइ छ । हाल मनसुन पनि सक्रिय भएकाले अग्रिम टिकट बुकिङ खुला गरि हाल्न पनि समस्या देखिएको उनको भनाइ छ । यद्यपि, सबै सरोकारवाला पक्ष बसेर एउटा टुंगोमा पुगिने उनको विश्वास छ ।