राजा फर्काउने आन्दोलन तुहिएपछि रास्वपासँग मिलेर सडक तताउँदै राप्रपा
काठमाडौँ – राजावादी आन्दोलन असफल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले रवि लामिछानेको रास्वपासँग मिलेर थप आन्दोलन चर्काउने भएको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नहुँदासम्म सदनमा संघर्ष जारी रहने बताउँदै पेलेर सदन चलाउने क्रम नरोकिए रास्वपासँगै सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
अध्यक्ष लिङदेनले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नहुँदासम्म सदनमा आफूहरुको संघर्ष जारी रहने बताएका छन् । आफूहरुलाई पेलेर सदन चलाउने क्रम नरोकिए सडक आन्दोलनमा जान बाध्य हुने उनले चेतावनी दिए । गृहजिल्ला झापा पुगेका लिङ्देनले माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाइरहने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर सडक आन्दोलनमा जानसक्ने स्पष्ट पारे ।
आफूहरुले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै उनले सभामुख देवराज घिमिरेको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष लिङदेनले यो प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि दोहोर्याए ।