अनुदानको २ सय बोरा युरिया मल किराना पसलको गोदाममा भेटियो
काठमाडौँ – उदयपुरको कटारी नगरपालिका–४ स्थित एक किराना पसलको गोदाममा अनुदानको २ सय बोरा युरिया मल भेटिएको छ। एक किनारा पसलमा लुकाइराखेको अवस्थामा करिब २०० बोरा अनुदानको युरिया मल भेटिएको हो ।
गत बिहीबार जिल्ला प्रशासन कार्यालय, उदयपुर र कटारी नगरपालिकाको संयुक्त अनुगमन टोलीले दिलीप चौधरीद्वारा सञ्चालित ‘आशुतोष ट्रेडर्स तथा जेनरल स्टोर’ को गोदाममा उक्त मल फेला पारेको हो ।
अनुगमनका क्रममा नेपाल सरकारले कृषि सामग्री केन्द्रमार्फत् किसानलाई सहुलियत दरमा उपलब्ध गराउने रासायनिक मल व्यापारीको गोदाममा भेटिएपछि कालोबजारी भएको आशंकामा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।
कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानमा गोदाममा भेटिएको मल अनुदानकै भएको पुष्टि भएको छ । उनले भने, ‘यो अनुदानको मल हो, जुन एक व्यापारीको गोदाममा भेटिएको छ । हामीले प्रारम्भिक अनुसन्धान गरेर प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाएका छौं, किनभने यसमा थप कारबाही गर्ने अधिकार स्थानीय तहलाई छैन ।’
गोदाम सञ्चालक चौधरीले मलको स्रोत खुलाउन सकेका छैनन् । मेयरका अनुसार, चौधरीले एकजना ड्राइभरले मल राखिदिएको र आफूलाई विस्तृत जानकारी नभएको बयान दिएका छन् । ‘उनले एक ड्राइभरको नाम दिएका छन्, तर ती ड्राइभर सम्पर्कमा छैनन्, फोन पनि उठ्दैन,’ मेयर श्रेष्ठले भने, ‘प्रमाणको अभावमा जसको गोदाममा सामान भेटियो, उसैले जिम्मा लिनुपर्ने हुन्छ ।’
घटनाको थप अनुसन्धानका लागि नगरपालिका, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघलगायतका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको थियो । समितिले आफ्नो प्रतिवेदन आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, उदयपुरमा बुझाइसकेको छ ।