अतिरिक्त आम्दानी गर्न चाहने सरकारी कर्मचारीलाई खुशीको खबर

मंगलबार, १७ भाद्र २०८२

काठमाडौँ – अतिरिक्त आम्दानी गर्न चाहने सरकारकी कर्मचारीका लागि खुशीको खबर छ । निजामती सेवाका कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन नपाउने व्यवस्था उल्टिएको छ । प्रतिनिधिसभाबाट लोकसेवा तयारीको कक्षा पढाउन नपाउने व्यवस्थालाई उल्ट्याउँदै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले अतिरिक्त आम्दानीका लागि लोकसेवा पढाउन पाउने व्यवस्या गरेको छ ।

माओवादी केन्द्रका सांसद तारामान स्वार, सुरेश आलेमगर, राधेश्याम पासवान लगायतले सरकारी कर्मचारीले अतिरिक्त आम्दानी गर्न पाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका थिए । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकले यस्तो प्रावधान छ ।

प्रतिनिधिसभाले कर्मचारीले पढाउन नपाउने प्रावधान राखेर विधेयक पठाएको थियो । त्यसलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने प्रावधान राखेको हो । विधेयक पास हुनु अगाडि सांसदहरूले कर्मचारीले कार्यालय समय बाहिर अतिरिक्त आम्दानी गर्न सक्ने अवस्थालाई रोक्न नहुने तर्क गरेका थिए । त्यसपछि समिति सभापति तुलसीकुमारी दाहालले ‘कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखेर जाऔं’ भनिन् ।

सभापति दाहालको प्रस्तावलाई समितिले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो सँगै प्रतिनिधिसभाले निजामती कर्मचारीले लोकसेवा तयारीको कक्षा पढाउन नपाउने गरी गरेको व्यवस्था उल्टिएको छ । छलफलमा माओवादी केन्द्रका सांसद तारामान स्वारले ‘श्रम गर्नेलाई मर्का पर्न दिन नहुने’ बताएका थिए ।

‘कार्यालय समय बाहिर र कार्यलयको काममा बाधा नपर्ने गरी अन्य काम गर्न बाधा पर्दैन । यही स्पिरिटमा आवश्यक व्यवस्था राखौं’ उनले भनेका थिए ।
माओवादीकै सांसद सुरेश आलेमगर, राधेश्याम पासवान लगायतले पनि कार्यालय समय बाहिर निजामती कर्मचारीले लोकसेवा पढाउन नपाउने भन्ने भाषा प्रयोग गरेर जान नहुने बताएका थिए । त्यसपछि विधायन व्यवस्थापन समिति प्रतिनिधि सभाले गरेको निर्णय उल्ट्याउने निर्णयमा पुगेको हो ।