ठेक्का लिएर सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत
काठमाडौँ – सडकको ठेक्का लिएर अलपत्र पार्ने ठेकेदारको जमानत जफत भएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआरर ओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरेको हो ।
१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७८ जेठ १८ गते सम्झौता भएको सडकको ५२ महिनासम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो ।
पटक पटक म्याद थप गरी २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।
कूल रु ११ करोड २२ लाख ६६ हजारको लागतमा निर्माण हुने झन्डै छ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत नै भएको थियो। पटक–पटक काममा फर्किन मौखिक र लिखित रूपमा पत्राचार गरिएको भए पनि निर्माण व्यवसायी आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ।
सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ। अहिले यो सडकमा सवारी साधन सञ्चालन गर्न निकै सास्ती रहेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताएका छन् ।
निर्माण शुरु भएपछि निर्माण व्यवसायीले चार करोड १३ लाख भुक्तानी लगेको थियो। जमानत जफत भएपछि पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकोले अन्य कारबाही प्रक्रिया समेत अघि बढाउन थालिएको छ।