जेनजीको आन्दोलन पछि मालपोत आतङ्क सुरु, भ्रष्टाचार गर्ने बाटो खुल्यो

बुधबार, २२ असोज २०८२

काठमाडौँ – जेनजीको आन्दोलन पछि केही जिल्लामा मालपोत आतङ्क सुरु भएको छ । नेपालको सबैभन्दा धेरै भ्रष्टाचार हुने मालपोत कार्यालयहरुमा भदौ २४ गते आगजनी भएको थियो ।

आगजनी भएका कार्यालयले सम्पूर्ण कागजात जलेर नष्ट भएको भन्दै ११ वटा प्रमाणसहित दर्ता श्रेस्ता पुनः तयार पार्न जग्गाधनीलाई आह्वान गरेका छन् ।मालपोतको सूचना अनुसार प्रमाण तयार पार्न जग्गाधनीलाई १ हप्ताभन्दा धेरै समय लाग्नेछ भने विचौलिया नसमाते मालपोतले महिनौं झुलाउने छ ।

मालपोत कार्यालय, कलंकी, कालपोत कार्यालय कास्की लगायतले सूचना निकालेर आतंक मच्चाइसकेका छन् भने अरु कार्यालयले सूचना निकाल्ने तयारी गरेका छन् । जारी सूचनामा भनिएको छ, ‘कार्यालयमा रहेका अभिलेख जलेर नष्ट भएका कारण दैनिक सेवा प्रवाह बन्द भएकोले सेवा पुनः सुचारु गर्न नष्ट भएका दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।’

कार्यालयले दर्ता प्रक्रियाका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सक्कल पुर्जा, प्लट रजिष्ट्रार, फिल्डबुक, नक्सा, रोक्का प्रमाणपत्र, स्थलगत सर्जमिन र अन्य आवश्यक कागजातसहित कुल एक दर्जन कागजात मागेको छ। डिजिटल नक्सा र रेकर्ड उपलब्ध हुँदा पनि सेवाग्राहीहरूलाई यसरी उपस्थित हुन निर्देशन दिएपछि स्थानीय असन्तुष्ट भएका छन्।

एक जग्गाधनीले भने, ‘एक्काइसौं शताब्दीमा पनि मालपोत कार्यालयको प्रक्रिया अठारौं शताब्दी जस्तो छ। डिजिटल नक्सा र रेकर्ड उपलब्ध छ, आफ्नै सक्कल लालपूर्जा पनि छ, तर यत्रो कागजात मागेर आफैं उपस्थित हुन भनिएको छ।’ अर्को जग्गाधनीले भ्रष्टाचारविरुद्धको आन्दोलनले झन् सरकारी कार्यालय जानुपर्ने बाध्यता सिर्जना गरेको र यसले भ्रष्टाचार बढ्ने आरोप लगाएका छन्। उनी भन्छन्, ‘घुसखोरी नियन्त्रण गर्ने दीर्घकालीन उपाय भनेको नागरिकलाई सरकारी कार्यालय जानुपर्ने बाध्यता हटाउनु हो। तर अहिलेको अवस्था यस विपरीत छ।’