आयुक्तको कठालो समात्न निर्वाचन आयोग पुग्यो जेनजीको एक समूह

शुक्रबार, २४ असोज २०८२

काठमाडौं – आयुक्तको कठालो समात्न जेनजीको एक समूह निर्वाचन आयोग पुगेको छ । सर्वोच्च अदालतको आदेश ८ बर्ष सम्म पनि कार्यान्वय नगरेर लुटतन्त्रलाई सघाएको भन्दै जेनजीको समूहले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचनमा भाग लिने बातावरण बनाउन आयोग पुगेको हो ।

विदेशमा रहेका मतदातालाई पनि आउँदो फागुन २१ गतेको निर्वाचनमा सहभागी गराउन आयोगमा निवेदन दिएका छन् । निवेदनमा २०७२ साल चैत ७ गते सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार विदेशमा रहेका नागरिकहरुलाई आउँदो निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन अनुरोध गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउन २०७४ सालमा जारी भएको सर्वोच्च अदालतको आदेश ८ बर्ष सम्म पनि कार्यान्वय गरेन । जनतालाई अधिकार दिने र जनताको अधिकार खोस्ने यिनै दुई घटनाले लुटतन्त्रको रवैया स्पष्ट गर्छ ।’

अब लुटतन्त्र ढलेको र सुशासनले दह्रिलो गरी खुट्टा टेक्न बाँकी रहेकाले विदेशमा भएका आम नेपालीलाई आसन्न निर्वाचनमा मतदानको अधिकार सुनिश्चित हुने गरी आवश्यक प्रबन्ध गर्न र नागरिकको अधिकार सुशिश्चित गर्न माग गरिएको छ । निवेदकहरुमा उपार्जुन चाम्लिङ, शिव यादव, अफ्साना बानु, प्रदिप पाण्डे, सुप्रिया राज्यलक्ष्मी शाह, खेमराज साउद र आदित्य आचार्य रहेका छन् । निवेदकहरु जेनजी समूहका प्रदेश संयोजकहरु हुन् ।