मन्त्रिपरिषद् विस्तारको चर्चासँगै जेन–जी समूहबीच खैलाबैला

शनिबार, २५ असोज २०८२

काठमाडौं—मन्त्रिपरिषद् विस्तारको चर्चासँगै जेन–जी समूहबीच खैलाबैला मच्चिएको छ ।

सुदन गुरुङले सिफारिस गरेका चार जनाको नाम सार्वजनिक भएपछि बास्तविक जेनजीहरु आक्रोशित भएका छन् । गुरुङले सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, युवा अभियन्ता बब्लु गुप्ता, डाक्टर रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हान्जोमलाई मन्त्री बनाउन सिकारिस गरेका थिए । जेन नाम बास्तविक जेनजीले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि चार जनाको नाम चर्चामा ल्याएपछि जेन–जी अगुवाबीच विवाद र असन्तुष्टि देखिएको छ।
नाम सार्वजनिक भएकामध्ये अधिकांशले आफूलाई कुनै जानकारी नभएको बताएका छन् भने टासी ल्हान्जोमको नागरिकता र पृष्ठभूमिलाई लिएर थप विवाद उत्पन्न भएको छ।

सरकारमा जेन–जीको प्रतिनिधित्वको माग भइरहे पनि नाम सिफारिस र छनोट प्रक्रियामा स्पष्टता नआउँदा अन्योल बढेको छ।

चर्चा भएकामध्ये गुप्ताले मन्त्री बन्नेबारे आफूलाई कसैले प्रस्ताव नगरेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेका छन्, ‘मलाई मन्त्रिपरिषद्बारे कुनै पनि कुरा थाहा नभएकाले कृपया भ्रमका पछाडि नलाग्न सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

रामजी रामले समेत आफूसँग कसैले छलफल नगरेको भन्दै भने, ‘मेरो नाम आएकोमा खुशी त लाग्यो, तर यसबारे मलाई कसैले भनेको छैन । म अहिले चन्द्रनिगाहपुर ड्यूटीमा छु, काठमाडौंमा आउने योजना छैन ।’

सम्पदा अभियन्ता श्रेष्ठलाई समेत यसबारे कसैले औपचारिक जानकारी दिएको छैन । सार्वजनिक भएको नाममध्ये टासी ल्हान्जोमको नाममा चाहिँ विवादसमेत भएको छ । हुन त उनको नाम केही पहिले समेत चर्चामा आएको थियो । तर, उनको पृष्ठभूमिलाई लिएर जेन–जी नेताहरूले नै असन्तुष्टि राखेका थिए ।

अहिले जेन–जी कर्णाली संयोजक सुप्रिया शाहीको नाममा जारी विज्ञप्तिमा समेत उनको नागरिकता विवाद रहेकाले त्यससम्बन्धी विषयमा छानबिन गर्न माग गरेकी छन् ।

टासी ल्हान्जोमको फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताका अपुष्ट समाचार प्राप्त भएको हुँदा कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पारियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी आन्दोलनमा टासी ल्हान्जोमको सहभागिता तथा योगदान र कर्णाली प्रदशेका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनको योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गरियोस् ।’

यो विज्ञप्ति आएपछि इन्डिजिनियस जेनजेड कलेक्टिभ र जेनजेड मुभमेन्ट एलाइन्सको नाममा अर्को विज्ञप्ति जारी भएको छ, ल्हान्जोममाथि बदनियतपूर्वक ढंगले आक्रमण भएको जिकिर गरिएको छ । विज्ञप्तिमा उनको नागरिकताको प्रतिलिपिसमेत सार्वजनिक गरिएको छ ।

हुम्लाको लिमी वडा नं. ६ को कार्यालयले उनी २९ कात्तिक २०५६ मा उक्त वडामा जन्मिएको भन्दै दिएको सिफारिस समेत उल्लेख गरिएको छ ।