विपिन जोशीबारे यस्तो छ इजरायली रिपोर्ट

आइतबार, २६ असोज २०८२

काठमाडौं – हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ । वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गरेको छ ।

समाचारमा २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ । इजरायलको तेल अभिभबाट एपीका रिपोर्टर रहेका मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारमा २४ वर्षीय नेपाली विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरूलाई प्रस्तुत गरिएको छ ।

यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको बिदाइ सूचिमा पनि विपिनको तस्वीर समावेश गरिएको थियो । शुक्रबार युद्धविराम सुरु भएपछि बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ। यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। युद्धविराम सहमति अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र (नेपाली समय अपराह्न २ः४५ सम्म) विपिन लगायत ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ ।

समाचारमा यस्तो छ विपिन बारेको रिपोर्ट

विपिन जोशी आक्रमण हुनु एक महिना अघिमात्र आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएका थिए। उनी गाजामा अझै जीवित रहेको विश्वास गरिएका एकमात्र गैर–इजरायली बन्धक हुन्। उनी विद्यार्थी आदान–प्रदान कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिक रहेको किब्बुट्ज अलुमिममा कृषि अध्ययन र काम गर्न इजरायल आएका थिए।

आक्रमणका क्रममा उक्त कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो । जोशीले लुकेर बसेको सुरुङबाट केही नपड्किएको ग्रिनेड बाहिर फ्याँक्न सफल भए पनि घाइते हुँदै अपहरणमा परेका थिए।

जोशीकी १७ वर्षीया बहिनी पुष्पा जोशी आफ्ना दाजुलाई मुक्ति दिलाउन सरकारी अधिकारीहरूसँग भेट गर्न पश्चिम नेपालस्थित आफ्नै घरबाट हप्तामा नियमित रूपमा बस चढी आठ–आठ घण्टा यात्रागरी काठमाडौं पुग्छिन्।

गत अगस्टमा उनका परिवारले इजरायलको राष्ट्रपतिसँग भेट गर्न र तेल अवीवस्थित “होस्टेज स्क्वायर” मा अन्य परिवारसँगै प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा गरेका थिए।