सरकारी सेवा छाडेका कार्की बने सफल उद्यमी, कमाउँछन् वार्षिक तीन करोड

आइतबार, २६ असोज २०८२

काठमाडौं—सरकारी जागिर छोडेर कृषि व्यवसायमा लागेका भरत कार्की करोडौंको मालिक बनेका छन् ।

नेपाल प्रहरीको जागिर छोडेर सुनसरीको रामधुनीमा झण्डै चार बिघा क्षेत्रफलमा आधुनिक शैलीमा सुँगुर, कुखुरा र बाख्रापालन गरेर थुप्रैलाई रोजगारी दिएका छन् । ओखलढुङ्गामा जन्मिएका कार्की बार्षिक तीन करोड बढी आम्दानी गर्न सफल भएका छन् ।

देशभित्रै रोजगारी र आत्मनिर्भरताको बाटो खोज्ने युवाका लागि कार्की प्रेरणाको श्रोत बनेका छन् ।

करिब ९ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

सानो लगानीबाट सुरु गरिएको उनको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ ।

वि.सं. २०३६ मा ओखलढुङ्गामा जन्मिएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आएका छन् । प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

करिब ३ वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उनले लामो समय मासुपसल सञ्चालन गरे । सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा सम्भावना देखेर व्यावसायिक रूपमा अघि बढ्ने प्रेरणा मिलेको उनले बताए ।

वि.सं. २०७० मा ‘सुनसरी एग्रो मिक्स फार्म’ स्थापना गरेका उनले २०७४ सालमा पुनः ‘झुम्का अर्गानिक कृषि फार्म’ दर्ता गरेका थिए । हाल उनले झण्डै चार बिघा क्षेत्रफलमा आधुनिक शैलीमा सुँगुर, कुखुरा र बाख्रापालन गर्दै आएका छन् । साथै, अन्य चार बिघा जमिनमा धान, मकैलगायत अन्नबालीसमेत गर्दै आएका छन् ।

विदेशमा काम गर्दा धेरै मेहनत गरेर कमाए पनि खासै बचत नहुने अनुभव सुनाउँदै उनले भने, “त्योबेला लाग्थ्यो आफ्नै देशमा पसिना बगाएर काम गर्दा त्यसको प्रतिफल पनि आफ्नै हातमा पर्छ ।” त्यही सोचले तीन वर्षको वैदेशिक बसाइपछि स्वदेश फर्केर व्यवसाय सुरु गरे । कार्कीले भने, “व्यवसाय सुरु गर्दा विभिन्न सानातिना चुनौतीको सामना गर्नुपरेको थियो । ‘‘पशुपालनसम्बन्धी प्राविधिक ज्ञान थिएन, बजारको अवस्था पनि स्थिर नहुनु कहिले राम्रो उत्पादन हुन्थ्यो, तर बिक्री मूल्य नपाइने समस्या थियो”, उनले भने, “तर सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो । परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो ।”

उनले सुरुमा दुई÷तीन सय लेयर्स कुखुराबाट व्यवसाय थालनी गरेका थिए । विस्तारै सुँगुर र बाख्रापालनतर्फ पनि लगानी विस्तार गर्दै गए । अहिले फार्ममा करोडौँको लगानी भइसकेको उनले बताए । तालिमबिनै व्यवसाय सुरु गरे पनि काम गर्दै जाँदा सिके उनले भने, “विभिन्न स्रोतबाट तालिम लिँदै आधुनिक कृषि प्रणालीको ज्ञान प्राप्त गरेँ । अहिले व्यवसाय सन्तोषजनक छ ।”

गत १७ गतेको वर्षाले फार्ममा ठूलो क्षति

धरानबाट बग्ने सर्दु खोलामा आएको बाढीले फार्ममा ठूलो क्षति पु¥यायो गत असोज १७ गते शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि आएको बाढीले फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाएर लगेको उनले जानकारी दिए । कार्कीका अनुसार फार्ममा झण्डै ३०० भन्दा बढी सुँगुर थिए । तर १८ गते राति एक्कासि आएको बाढीले ठूला माउ सुँगुरदेखि साना पाठासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएर लग्यो अहिले फार्ममा करिब ७० वटा सुँगुर मात्र बाँकी रहेको उनले बताए ।

बाढीका कारण ४० भन्दाबढी साना पाठा सुँगुर पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका धेरै सुँगुर बगाएर लगिएको उनले बताए । तिहारका लागि बिक्री गर्न तयारी अवस्थामा राखिएका सुँगुरसमेत बगाएर लगेपछि आर्थिक क्षति झनै बढेको छ ।

चट्याङसहित भारी वर्षा सुरु भयो सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हाम फाल्न थाले उनले भने, “त्यसबेला हामी फार्मको पारीपट्टी थियौँ, हेरिरहनुबाहेक केही गर्न सकिएन । खोलातर्फ बग्ने क्रममा फार्मको झाडी र ढोकामा अड्किएका केही सुँगुर मात्रै अहिले बाँकी छन् ।” सर्दु खोला बग्ने नदीकै छेउमा फार्म भएकाले अत्यधिक बहावसहितको बाढी फार्मभित्र छिरेको थियो । चट्याङको आवाजले सुँगुरहरू झन आत्तिएर आफैँ खोर नाघेर नदीमा हामफालेको उनको भनाइ छ ।

बाढीपछि फार्मको भौतिक संरचना मर्मत तथा व्यवस्थापन सुधारको काम सुरु गरिएको कार्कीले बताए । फार्मको सिँचाइ, बाढी नियन्त्रण र निकास व्यवस्थालाई प्राथमिकतामा राखेर पुनःस्थापनाको काम अगाडि बढाएको उनले बताए । “देशमै पनि कृषि व्यवसाय गर्न सकिन्छ भन्ने सोचका साथ मैले वैदेशिक रोजगारीबाट फर्केर यही क्षेत्रमा लागेँ”, उनले भने, “फार्ममा अहिले सुँगुरसँगै कुखुरा र बाख्रापालन पनि गर्दै आएको छु ।” उनका अनुसार फार्मको उत्पादनबाट मासुका लागि तयार सुँगुर र पाठा दुवै बिक्री गरिन्छ । मासु उत्पादनसँगै पाठा बिक्री गरेरसमेत आम्दानी लिने गरेको उनले बताए ।

कृषिबाट कार्की आफूले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । अहिले फार्ममा १६ जनालाई रोजगार मिलेको छ । कार्की भन्छन्, “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चीकै सन्तोषको विषय पनि रहेछ कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने भाष्य गलत हो ।” विदेश पलायन हुनुभन्दा अहिले युवाले आफ्नै ठाउँमा पसिना बगाए देश पनि समृद्ध बन्छ, परिवारलाई खानको खाँचो पनि हुँदैन । अहिले फार्ममा करिब रु २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ कार्कीले भने, “सञ्चालन राम्रो भएकाले अहिले सुँगुर, कुखुरा, बाख्रालगायत सबै फार्मबाट वार्षिक रुपमा रु ३ करोडसम्म आम्दानी हुने गरेको छ ।”