जेनजीहरुका लागि खुशीको खबर

सोमबार, २७ असोज २०८२

काठमाडौं—जेनजीहरुका लागि खुशीको खबर छ ।

अब राष्ट्रियसभामा पनि जेनजीहरुको प्रतिनिधित्व हुने भएको छ ।

राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व सुनिश्चितताका लागि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोग र राष्ट्रियसभाका अध्यक्षसँग छुट्टाछुट्टै भेटेर जेनजीको सहभागीता सुनिश्चित गर्न खोजेकी हुन् ।

जवाफमा उनीहरुले राजनीतिक सहमतिका आधारमा जेनजीको प्रतिनिधित्व सुनिश्चित हुने बताएका थिए । रिक्त सदस्यका लागि आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

प्रधानमन्त्रीले राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने चासो व्यक्त गर्नुभएको छ’, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भने, ‘मैले राजनीतिक सहमतिका आधारमा अघि बढ्दा सम्भव हुने कुरा बताएको छु।’

निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिरहेको छ।

माघ दोस्रो साताभित्र राष्ट्रिय सभाको निर्वाचन गराइसक्नुपर्ने छ।

निर्वाचन आयोगसँगको छलफलमा भने प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी र सुरक्षाबारे चासो व्यक्त गरेकी थिइन्।

आउँदो फागुन २० गते राष्ट्रिय सभाको एक तिहाइ पद रिक्त हुँदैछ।

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था छ। साथै प्रत्येक २ वर्षमा एक तिहाइ सदस्य रिक्त हुन्छन्। राष्ट्रिय सभाका अध्यक्ष दाहालको पनि आउँदो फागुनबाट कार्यकाल सकिन्छ।

प्रधानमन्त्रीले राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व खोजे पनि अहिलेकै अवस्थामा त्यो सम्भव देखिँदैन।

नेपालको संविधानमा राष्ट्रिय सभाको सदस्य बन्ने व्यक्तिको उमेर ३५ वर्ष नाघको हुनुपर्ने व्यवस्था छ।

जबकि जेनजी उमेर समूहमा भएका व्यक्तिको उमेर २८ वर्ष हुन्छ। त्यसैले जेनजीको प्रतिनिधित्वका लागि संविधान संशोधन गर्नु आवश्यक हुन्छ।

जेनजीको प्रतिनिधित्व नभएर समर्थन प्राप्त व्यक्ति मात्रै लैजान पनि सरकारले चाहेको जस्तो सहज छैन। किनभने राष्ट्रिय सभाको सदस्य पदका लागि प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन्।

हाल कायम रहेको स्थानीय तहका अधिकांश स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै बाहुल्यता छ।

यस्तोमा जेनजीहरूले केही स्थानीय तहका प्रतिनिधिको प्रस्तावमा उम्मेदवार उठाउनसम्म सक्ने अवस्था देखिए पनि निर्वाचनमा दलीय साथबिना जित हात पार्ने अवस्था देखिँदैन।

त्यसमाथि कांग्रेस र एमालेको बीचमा हाल प्रदेशहरूमा सहमतिको सरकार छ।

यस्तोमा दुई दल मिलेरै राष्ट्रिय सभाको निर्वाचनमा जाने अवस्था नकार्न सकिँदैन। संविधान संशोधन गर्नका लागि राष्ट्रिय सभामा समेत दुई तिहाइ मत आवश्यक हुने भएकाले कांग्रेस र एमालेले लामो समयदेखि राष्ट्रिय सभाको निर्वाचनको प्रतीक्षा गर्दै आएका छन्।

प्रतिनिधि सभाको फागुनमा हुने भनिएको निर्वाचनमा यी दलहरूको हैसियत कस्तो हुन्छ यकिन छैन। यस्तोमा दुवै दलले राष्ट्रिय सभा आफ्नो पक्षमा पार्ने मौकाका रूपमा यो निर्वाचनलाई हेरेका छन्।