केपि ओलीलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको नयाँ जुक्ति

शुक्रबार, ३१ असोज २०८२

काठमाडौं—बर्खास्त गर्ने बालेन शाहको चेतावनी पछि गृहमन्त्री ओमप्रकाश अर्यालले केपि ओलीलाई पक्राउ गर्न नयाँ जुक्ति लगाएका छन् ।

तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, सिडियो छविलाल रिजाललाई पक्राउ गर्न प्रहरीले अस्वीकार गरेपछि गृहमन्त्री अर्यालले महान्याधीवक्ता गुहारेका छन् । गृहमन्त्रीले महानायाधीवक्ता सविता भण्डारीलाई भेटेर ओलीको वयानमात्र भएपनि लिन अनुरोध गरेपछि भण्डारी छलफलमा जुटेकी छन् ।

चुनाव गराउनुपर्ने दायित्व रहेको अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ को दमनका विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि जसरी पनि अनुसन्धान र मुद्दा अगाडि बढाउन महान्यायाधिवक्तालाई दबाब दिएको खुलेको छ ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नआउँदै अर्यालले ओली, लेखकसहितलाई पक्राउ गरी अनुसन्धान र मुद्दा अगाडि बढाउन दबाब दिएका हुन् ।

यही विषयमा दबाब दिन गृहमन्त्री अर्याल असोज २६ गते महान्यायाधिवक्ताको कार्यालय पुगेका थिए ।

स्रोतका अनुसार महान्यायाधिवक्ता सविता भण्डारी तथा नायब महान्यायाधिवक्ताहरू समेत उपस्थित बैठकमा गृहमन्त्री अर्यालले जसरी पनि भदौ २३ को घटनामा मुद्दा अगाडि बढाउन दबाब दिएका थिए ।

त्यसका लागि कम्तीमा बयान भने पनि लिन उनको दबाब थियो ।

स्रोतका अनुसार भदौ २३ गतेको घटनाका सन्दर्भमा मृतक परिवारले जाहेरी दिएका आधारमा नै तत्कालीन प्रधानमन्त्री ओलीसहितलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने गृहमन्त्रीको अड्डी थियो ।

पहिलो प्रयास त पक्राउ गरेर नै अनुसन्धान गर्नेतर्फ हुनुपर्छ, नभए बोलाएर वा उनीहरूकोमा नै पुगेर भएपनि बयान लिनुपर्छ भनेर गृहमन्त्री अर्यालले महान्यायाधिवक्ता भण्डारीलाई दबाब दिएको स्रोतले बतायो ।

गृहमन्त्रीसँग सो विषयमा कुरा भएको महान्यायाधिवक्ता भण्डारीले समेत स्वीकार गरेकी छन् । गृहमन्त्री अर्याल आफूले नै बोलाएका कारण आएको उनको जिकिर छ ।

‘२६ गते मैले नै गृहमन्त्रीज्यूलाई बोलाएको हो । भदौ २३ र २४ गतेको घटनाका विषयमा कसरी जाने भन्ने छलफलका लागि आग्रह गरेको थिएँ,’ भण्डारीले भनिन्, ‘ठीकै छ, मेरो बाटो नै पर्छ, म आउँछु, भनेर उहाँ आउनुभएको हो ।’

जाँचबुझ आयोगले आफ्नो काम गर्दै गर्छ, अर्कोतर्फबाट पनि अनुसन्धान र अभियोजन गर्नुपर्छ भनेर अर्यालले आफ्नो धारणा राखेको भण्डारीले बताइन् ।

‘प्रहरीकै प्रारम्भिक प्रतिवेदन, घटनास्थल मुचुल्का, सीसीटीभी फुटेज, भिडियोसहितका थुप्रै प्रमाणहरू छन् । त्यस आधारमा पनि मुद्दा चलाउनुपर्छ भनेर गृहमन्त्रीज्यूले भन्नुभएको थियो,’ भण्डारीले भनिन् ।

त्यसपछि असोज ३० गते महान्यायाधिवक्ता भण्डारीले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाडौं उपत्यका प्रहरीका प्रमुख समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की समेतलाई बोलाएर त्यस छलफल गरेकी छन् ।

नायब महान्यायाधिवक्ताहरू सञ्जीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख समेत रहेका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले लगायतको उपस्थितिमा महान्यायाधिवक्ता भण्डारीले भदौ २३ गतेको घटनाका विषयमा परेका जाहेरीका आधारमा अनुसन्धान अघि बढाउन प्रहरी महानिरीक्षक खापुङलाई भनेकी थिइन् ।

‘२३ गतेको घटनाका विषयमा मात्र महान्यायाधिवक्ताज्यू बढी केन्द्रित हुनुभएको थियो,’ भेटमा सहभागी एक अधिकारीले लोकान्तरसँग भने, ‘प्रहरीको प्रारम्भिक प्रतिवेदन, घटनास्थल मुचुल्का, मृतक परिवारबाट परेको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउनुपर्छ भनेर महान्यायाधिवक्ताज्यूले भन्नुभएको थियो ।’

जवाफमा प्रहरी महानिरीक्षक खापुङले भदौ २३ र २४ गतेका दुवै घटनामा दुवै तर्फबाट जाहेरी परेकाले अनुसन्धान अघि बढाउँदा समस्या हुनेतर्फ ध्यानाकर्षण गराएको स्रोतले खुलायो ।

‘भदौ २३ र भदौ २४ गतेको घटनाका विषयमा दुवै तर्फबाट जाहेरी परेका छन् । एकातर्फ तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक लगायतविरुद्ध किटानी जाहेरी आएको छ भने अर्कातर्फ देशभरबाट अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्ध पनि किटानी जाहेरी आएको छ,’ प्रहरी महानिरीक्षक खापुङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले अहिले नै कुनै एक पक्षलाई पक्राउ गरेर बयान लिनुभन्दा पनि जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँदा ठीक हुन्छ भनेर उहाँले भन्नुभएको थियो ।’

आईजीले तत्काल बयान लिनुभन्दा पनि जाँचबुझ आयोगको प्रतिवेदन कुरेर सोही प्रतिवेदनलाई आधार मानी बयान लिने काम गर्नुपर्ने राय पेश गरेको स्रोतले खुलायो ।

‘तर, महान्यायाधिवक्ता भण्डारीले भदौ २३ गतेको घटनामा तत्काल अनुसन्धान शुरू गरिहाल्नू, तथा बुझ्नुपर्ने, बयान लिनुपर्नेजस्ता काम अघि बढाइहाल्नू भनेर आईजीसापलाई निरन्तर दबाब दिइरहनुभयो,’ स्रोतले थप्यो, ‘ तर, आईजीसापले अनुसन्धान गर्दैछौं भनेर टार्न खोज्नुभयो ।’

आईजी खापुङ र महान्यायाधिवक्ता भण्डारीबीच औपचारिकरूपमा असोज ३० गते नै पहिलोपटक भेट भएको स्रोतले खुलायो ।

महान्यायाधिवक्ता भण्डारीले पनि प्रहरी महानिरीक्षकसँग त्यस विषयमा छलफल भएको स्वीकार गरिन् ।

‘जाँचबुझ आयोगले आफ्नो छानबिन गर्दै गर्ला, हामीले पनि भदौ २३ र २४ को घटनालाई प्यारालल अनुसन्धान गर्नुपर्छ भनेर छलफल गरेका हौं,’ महान्यायाधिवक्ता भण्डारीले भनिन्, ‘जवाफमा आईजीपीले पनि हामीले प्रमाण जुटाउने काम गरिरहेका छौं । प्रहरी यत्तिकै बसेको छैन भन्नुभयो ।’

आपराधिक गतिविधिलाई आपराधिक हिसाबले नै हेर्नुपर्छ भनेर आफूले भनेको उनले खुलाइन् ।

‘जाँचबुझ आयोगले जाँचबुझ गरेर सिफारिस नै गर्ने हो । त्यसपछि पनि अनुसन्धान र अभियोजन गर्ने काम हाम्रै भएकाले तत्काल प्रहरीकै प्रारम्भिक प्रतिवेदनहरूबाट बुझ्ने कुरा गर्न सकिन्छ,’ भण्डारीले भनिन्, ‘भदौ २३ गते गोली चलाउन तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिनुभएको हो वा होइन, त्यसको अनुसन्धान त हुनुपर्‍यो नि , आदेश दिएको हो कि होइन भन्ने कुरा आओस् ।’

गोली हान्ने काममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको डाइरेक्ट इन्भल्भमेन्ट देखियो भने छाड्न नहुने उनको जिकिर छ ।