आफ्नो मित्र र शत्रु छुट्याउन जेनजी समूहलाई प्रचण्डको आग्रह

शनिबार, १ कार्तिक २०८२

काठमाडौं—प्रचण्डले जेनजी समूहलाई आफ्नो मित्र र शत्रु छुट्याउन आग्रह गरेका छन् । भदौ २३ र २४ गतेका आन्दोलनकारीलाई आतंककारी भन्न थालिएको स्मरण गर्दै प्रचण्डले उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको हकमा लड्दा आफूलाई पनि त्यस्तै भन्ने गरेको बताए । प्रचण्डले आफ्नो मित्र शक्तिलाई नचिने क्रान्ति असफल हुने चेतावनी दिँदै दुश्मनलाई साथी ठान्दा पनि क्रान्ति सफल नहुने बताए ।

प्रचण्डले युवा कार्यकर्तालाई आफ्नो मित्र र शत्रु छुट्याउन निर्देशन दिँदै भने, ‘पछिल्लो आन्दोलनलाई आतंककारी भनेर गलत रूपमा व्याख्या गरिएको छ। उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको हकमा लड्दा हामीलाई पनि यस्तै भनिएको थियो।’

प्रचण्डले आफ्नो मित्र शक्तिलाई नचिने क्रान्ति असफल हुने चेतावनी दिँदै भने, ‘जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ — उसलाई चिन्न सक्नुपर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।’

वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने माओवादीको निश्कर्ष छ । आगामी फागुन २१ गतेको निर्वाचन संविधानसम्मत र राष्ट्रिय सहमतिका साथ सम्पन्न गर्न सबै पक्षको ऐक्यबद्धता जरुरी भएको प्रचण्डको भनाई छ ।

संसद पुनःस्थापनाको विषयमा प्रचण्डले पहिले केपी ओली नेतृत्वमा संसद विघटन भएकाले अहिले उनीहरुकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण रहेको बताए । उनले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको संज्ञा दिएका छन् ।