मन्त्री बन्न तम्सिएका खगेन्द्र सुनार उल्टै प्रहरीको फन्दामा
काठमाडौं— मन्त्रीको सपथ खान तम्सिएका दलित अभियान्ता खगेन्द्र सुनार उल्टै प्रहरी खोरमा पुग्ने भएका छन् ।
विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई प्रहरीले कानूनबमोजिम कारबाही गर्ने भएको छ ।
काभ्रे जिल्ला अदालतले साउन ५ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा सुनारलाई पक्राउ गर्ने तयारी गरेको हो ।
विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा जिल्ला अदालतले साउन २ गते सुनारलाई दोषी ठहर गर्दै पक्राउ गरी कारबाही अगाडि बढाउने आदेश गरेको थियो । सोही आदेशबमोजिम ५ गते पक्राउ पुर्जी जारी भएको हो ।
यससँगै सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध बहुविवाह मुद्दा दर्ता छ ।