विद्युतको लाइन काटिएपछि रोजगारी गुमाएका मजदुरहरुको आन्दोलन गर्ने तयारी
काठमाडौं—विद्युतको लाइन काटिएपछि रोजगारी गुमाएका मजदुरहरुले आन्दोलन गर्ने भएका छन् ।
वार्षिक ११ अर्बको धागोे निर्यात गर्दै आएको विराटनगरको रिलायन्स स्पिनिङ मिल्सका ४ हजार मजदुरले नेपाल विद्युत प्राधिकरणविरूद्ध आन्दोलन गर्ने भएका हुन् ।
विद्युतको लाइन काट्दा मजदुरको घरमा चुल्हो बल्ने उद्योग बन्द भएको भन्दै रोजगारी गुमाएका मजदुरलाई वैकल्पिक रोजगारीको व्यवस्था गर्न माग गर्दै आन्दोलन गर्न लागेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरबाट प्रयोग गरेको विद्युत्को बक्यौता नतिरेको भन्दै सुनसरी—मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेको रिलायन्स स्पिनिङ मिल्सको लाइन काटिदिएपछि सातादेखि उद्योगको उत्पादन ठप्प भएको छ ।
उत्पादन ठप्प भएसँगै उद्योगमा कार्यरत ४ हजारभन्दा बढी मजदुर र कर्मचारी प्रभावित भएका छन् । उद्योगले दैनिक १२५ टन विभिन्न प्रकारका धागो उत्पादन गर्दै आएको थियो ।
विद्युत् कटौती विरुद्ध सुनसरीका विभिन्न मजदुर संगठन सहित उद्योगका आन्तरिक मजदुर संगठनका प्रतिनिधिहरू सुरेशकुमार साह, धनेश्वर चौधरी, अमरलाल यादव, ओमप्रसाद महतो र विजय चौधरीले सुनसरी प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै उद्योगमा विद्युत् जडान नगरिए ४ हजारभन्दा बढी मजदुरले विद्युत् प्राधिकरण घेराउ गर्ने र त्यस बेला भएको क्षतिको जिम्मेवारी आफूहरूले नलिने चेतावनी दिएका छन् ।
उनीहरूले चार हजारभन्दा बढी मजदुरको घरमा चुल्हो बल्ने उद्योगको विद्युत् कटौती गरेर मजदुरको पेटमा लात हान्ने काम प्राधिकरणले गरेको र त्यसका विरुद्ध मजदुरहरू जस्तोसुकै आन्दोलन र संघर्ष गर्न तयार रहेको बताएका छन् ।
मजदुर संगठनका प्रतिनिधिको सामूहिक भनाइ छ, ‘उद्योगमा विद्युत् जडान गर वा उद्योगका ४ हजारभन्दा बढी मजदुरलाई वैकल्पिक रोजगारीको व्यवस्था गर ।’ उनीहरूले छठ पर्व लगत्तै बुधबारदेखि सडक आन्दोलन गर्ने तयारी गरेका छन् ।
यो उद्योग रोजगारी र निर्यातमुखी हो । यसमा १६ सय महिला सहित ४ हजार कामदारले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । उद्योगले गत वर्ष ११ अर्ब मूल्यबराबरका विभिन्न प्रकारका धागो निर्यात गर्दा स्वदेशी बजारमा करिब ३ अर्ब मूल्यका धागो बिक्री गरेको तथ्यांक छ ।
उद्योगले डेडिकेटेड फिडरबाट प्रयोग गरेको विद्युत्को ७५ करोड बक्यौता तिर्न बाँकी रहेको बताइएको छ । प्राधिकरणले लक्ष्मीपूजाको भोलिपल्ट कात्तिक ४ गते मंगलबार उद्योगको विद्युत् काटिदिएको हो । उद्योगले अहिले साँझमा बत्ती बाल्न जेनेरेटर प्रयोग गर्दै आएको उद्योगका महाप्रबन्धक महेश पोखरेलले जानकारी दिए ।
विद्युत् प्राधिकरणले विद्युत् प्रयोग गरेको बिल, अथवा कुनै आधार नदिएकाले मौखिक रूपमा तोकिएको रकम कसरी तिर्ने भन्ने विषयमा मिल्स सञ्चालक अदालत गएका थिए । सुनसरी जिल्ला अदालतले रोजगारी र निर्यातमुखी उद्योगको विद्युत् कटौती नगर्न आदेश दिएपछि गत वर्ष प्राधिकरणले यो उद्योगको विद्युत् कटौती गरेको थिएन ।
तर प्राधिकरणको सञ्चालक समितिले पुनरावलोकन गर्ने भनेपछि बक्यौता तोकिएको ७५ करोड बक्यौता रकमको ५ प्रतिशत धरौटी राखेर अदालतको मुद्दा फिर्ता लिएर प्राधिकरणको निर्णयको पर्खाइमा बसेको अवस्थामा एक्कासी विद्युत् आपूर्ति बन्द गरेर प्राधिकरणले धोका दिई उत्पादन नै ठप्प पारेर ४ हजारभन्दा बढी मजदुरको पेटमा प्राधिकरणले लात हानेको महाप्रबन्धक पोखरेलले गुनासो गरे ।
उद्योगलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा त्यसलाई राज्यले नै धराशायी बनाएको छ । पोखरेलले भने, ‘बैंकको अर्बौं लगानी रहेको उद्योगको विद्युत् कटौती गरेर राज्यले मजदुरको रोजीरोटी खोसेको अवस्था छ ।’ पूर्णरूपमा निषेध गर्नुभन्दा वैकल्पिक बाटो अपनाउँदै उद्योग सञ्चालन हुने र प्राधिकरणले पनि आफुले लिनुपर्ने रकमको आधिकारिक प्रमाण पेश गरेर रकम असुली गर्नुपर्नेमा बलजफती गरेको उनको भनाइ छ ।