जेनजी आन्दोलनमा मारिएका ३९ जनाको टाउको र छातिमा गोली लागेको पुष्टि
काठमाडौँ – जेनजी आन्दोलनमा मारिएका ३९ जनाको टाउको र छातिमा गोली लागेको पुष्टि भएको छ । सार्वजनिक भएको पोस्टमार्टम रिपोर्ट अनुसार काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको रिपोर्टमा उल्लेख छ ।
उपत्यका बाहिर पनि ४ जनाको कम्मरमाथि नै गोली लागेको छ । उनीहरुमध्ये दुुई जनालाई रवरको गोली लागेको छ भने बाँकी सबै एसएलआरको गोलीले मारिएका छन् ।
गोलीले ३९ जना मारिएकामा सबैजसोलाई कम्मरमाथि प्रहार भएको पोस्टमार्टमबाट पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार अधिकांश मृतकको छाती, टाउको, घाँटी र पेटमा उच्च वेगका घातक हतियारबाट गोली लागेको देखिएको छ।मानवअधिकार आयोगले अत्यधिक बल प्रयोगबारे छानबिन गरिरहेको छ भने प्रहरीको तालिम र हतियार प्रयोगमा कमजोरी देखिएको विज्ञहरूले औंल्याएका छन्।
२३ भदौको आन्दोलनमा बानेश्वरमा २५ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय श्रेयम चौलागाईंको टाउकोमा गोली लागेर मृत्यु भएको प्रहरीको आन्तरिक रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार वनस्थलीका इस्वत अधिकारी, सौरभकिशोर श्रेष्ठ र आयुष थापाको छातीमा गोली लागेर मृत्यु भएको छ । बझाङका सुवासकुमार बोहराको छाती र घाँटीमा गोली लागेको रिपोर्टमा उल्लेख छ । त्यसै दिन रसिद खतिवडा र निश्चिल सारू मगरको पेटमा गोली लागेको थियो ।
२३ र २४ भदौको प्रदर्शनमा गोली प्रहारबाट ३९ जना प्रदर्शनकारी मारिएकामा सबैजसोलाई कम्मरभन्दा माथि गोली लागेको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले सरकारलाई दिएको प्रतिवेदनअनुसार मृतकहरूको टाउको, घाँटी, छाती र पेटमा गोली लागेको छ ।
प्रहरीको गोली लागेर पहिलो दिन २२ जना र दोस्रो दिन १७ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकोमा, चार जनाको पेटमा र दुई जनाको घाँटीमा गोली लागेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरी भन्छन्, ‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ, टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ, अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ । एउटा शवमा भने छाती र घाँटीमा ३ वटा रबर बुलेट लागेको पायौं ।’
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमअनुसार गोली लागेर मारिएका सबैलाई ‘हाई भेलोसिटी’ (राइफललगायत घातक) हतियारबाट गोली लागेको डा। चौधरीको भनाइ छ । ‘१ देखि २ वटा शवमा मात्र लो भेलोसिटी ९पेस्तोललगायत छोटा० हतियारको गोली लागेको पाइयो,’ उनी भन्छन्, ‘लगभग सबै शवमा टाढाबाट आएको गोली लागेको देखिन्छ । नजिकैबाट गोली चलेको भए शवको छाला, रौं जलेको हुनुपर्थ्यो, त्यस्तो पाइएन ।’
२३ भदौमा २२ जना आन्दोलनकारी, २४ भदौमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी मारिएका थिए । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए ।