बाहिरियो एलिना चौहानको अर्को काण्ड

मंगलबार, ११ कार्तिक २०८२

काठमाडौं— एलिना चौहानको अर्को काण्ड बाहिरिएको छ ।

बद्री पंगेनी, प्रताप दाससँग अमेरिकामा ‘अब सुन्छ अमेरिका’ सांगीतिक टुरमा गएकी एलिना आफूमाथि अपमान भएको भन्दै कार्यक्रम छोडेर नेपाल फर्किएकी छन् ।

आयोजक फ्लाइ नेपा ट्राभल्सले आफूलाई नोकरझैँ व्यवहार गरेको आरोप लगाउँदै सांगितिक कार्यक्रम छोडेर उनी नेपाल फर्किएकी हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्, कसैले कैदी झैँ महसुस गऱ्यो। कसैले अपमान सहनुपऱ्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।

उक्त सांगीतिक भ्रमण आफ्नो लागि ठूलो सिकाइ बनेको उल्लेख गर्दै एलिनाले कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्ने बताएकी छन्। उनले अगाडि लेखिन्, नराम्रा अनुभवले धेरै कुरा सिकायो। अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा भएको अब सुन्छ अमेरिकामा एलिनासहित बद्री पंगेनी र प्रताप दासले प्रस्तुति दिएका थिए। तीज नलाग्दै सुरू भएको कार्यक्रम दसैं,तिहारपछि मात्र सकिएको थियो।

आयोजकको भनाइः कार्यक्रम सफलतापूर्वक सम्पन्न
यता, कार्यक्रमका आयोजक फ्लाइ नेपाले परिकल्पना गरेजस्तै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएको छ। कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले फ्लाइ नेपाको आधिकारिक पेजमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, आफूले कलाकारसँग गरेका शर्त तथा बाचाबमोजिमका सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु।