पूर्वगृहमन्त्री रमेश लेखकको भाइ–भतिजलाई छानी–छानी पुरस्कृत गर्दै जेनजी सरकार

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौँ – पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरि कारवाही गर्न बनेको सरकारले उनकै भाइ–भतिजलाई छानी–छानी पुरस्कृत गर्न थालेको छ । सरकारले सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा लेखकका भाइ प्रा.डा. विनोद लेखक र त्रिविको परीक्षा नियन्त्रकमा ज्वाइँ डा. सूर्यकान्त कलौनीले नियुक्ति पाएका छन् ।

लेखककै नातेदारलाई शिक्षामन्त्री महावीर पुनले कनिष्ठ प्रोफेसरलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा सदस्यमा नियुक्त गरेपछि सिनियर प्रोफेसरहरु क्रुद्ध बनेका छन् । कनिष्ठ प्रोफेसरलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा सदस्यमा असोज अन्तिम साता  नियुक्त गरिएको छ । सातजना सदस्य मनोनीत गरिँदा ओली–देउवाको शासनकालमा प्रचुर लाभ उठाएका रमेश लेखकका नातेदार प्रा.डा. हेमराज पन्तले अवसर पाएका हुन् ।

विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ अनुसार सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सम्पन्न उक्त बैठकले प्रा.डा. हेमराजलाई सदस्यमा मनोनयन गरेको हो । पन्त त्रिभुवन विश्वविद्यालयमा रसायन शास्त्रका कनिष्ठ प्राध्यापक हुन् ।

पूर्वगृहमन्त्री रमेश लेखक र आरजू राणाको आशीर्वादमा कनिष्ठ भएर पनि उनी निरन्तर नियुक्ति पाउन सफल प्राध्यापकका रूपमा चिनिन्छन् । यसरी नियुक्ति पाउने अन्य गुरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र र मानव शास्त्रका विज्ञहरूमध्येबाट दार्चुलाका प्रा.डा. जयराज अवस्थी, बझाङका प्रा.डा. अम्मराज जोशी, बैतडीका डा. लवदेव अवस्थी, काठमाडौंकी प्रा.डा. संगीता राजभण्डारी, दार्चुलाका डा. डम्बरबहादुर पाल र कञ्चनपुरकी सह–प्रा. अनुराधा रोकाय छन् ।