जेनजीले लखेटेका केपि ओली र रमेश लेखकलाई सर्वोच्च अदालतले पनि लखेट्यो

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौं—जेनजीले लखेटेका केपि ओली र रमेश लेखकलाई सर्वोच्च अदालतले पनि लखेटेको छ ।

ओली–लेखकसहित पाँच जनालाई स्थानहद तोकेकोविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारलाई साथ दिएको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गर्दै उनीहरूलाई स्थानहद तोक्नुपर्ने कारण पेश गर्न सरकार र न्यायिक आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा भएको घटनामाथि छानबिन गर्न गठित न्यायिक आयोगको सिफारिसमा सरकारले ओली, लेखक, पूर्वगृहसचिव गोकर्णमणि दवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई अनुमतिबेगर काठमाडौं उपत्यका छोड्न रोक लगाएको थियो ।

ओली र लेखकलाई स्थान हद तोक्नु कानुनविपरीत हुने भन्दै अधिवक्ता डा.प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र आयोगलाई विपक्षी बनाउँदै कात्तिक १२ गते रिट दायर गरेकोमा हिजो न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासमा पेशी चढेको थियो ।

तर, रिट दायरकर्ताले नै पेशी स्थगित गरेकोमा आज सुनुवाईपछि आदेश जारी गरिएको हो ।