एक-दुई दिनभित्रै कुलमानको नेतृत्वमा नयाँ दल दर्ता
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीमा पुगेका छन् । लामो समयदेखि विभिन्न समूहसँग भइरहेको छलफलपछि घिसिङ अब आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्ने निर्णयमा पुगेको उनी निकट स्रोतको दाबी छ ।
सुरुमा पार्टी कसैको नाममा दर्ता गरेर पछि नेतृत्व सम्हाल्ने योजना बनाएका कुलमान केही दिनयता भने आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।‘सुरूमा उहाँ अहिले अरुकै नेतृत्वमा पार्टी खोल्ने र चुनावअघि मात्र नेतृत्व सम्हाल्ने योजनामा हुनुहुन्थ्यो,’ स्रोतले भन्यो, ‘अहिले विभिन्न छलफलहरू पछि आफ्नै नेतृत्वजमा पार्टी बनाउने तयारीमा पुग्नु भएको हो ।’ केही दिनभित्रै पार्टी दर्ताको प्रक्रिया सुरु हुने उनको दाबी छ ।
निर्वाचन आयोजनमा नयाँ दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने समय दुई साताभन्दा कम बाँकी रहँदा घिसिङले दल गठनको कामलाई तिव्रता दिएका हुन् ।
पार्टीको नामका विषयमा छलफल जारी रहेको जनाइएको छ । विभिन्न नामहरू मध्ये ‘उज्यालो नेपाल’ वा यस्तै केही राख्ने छलफल अघि सारिएको छ । यसको चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेमा सहमति नजिक पुगेको स्रोतको दाबी छ । एकदुई दिनभित्रै कुलमानको नेतृत्वमा दल दर्ता हुने स्रोतको दाबी छ ।
कुलमान नेतृत्वको नयाँ पार्टीमा जेनजी आन्दोलनपछि रास्वपा छाडेकी पूर्वसांसद सुमना श्रेष्ठ, डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँऊ गत निर्वाचनमा प्रतिस्पर्धा गरेका सागर ढकाल, हामी नेपालका संस्थापक सुधन गुरुङ लगायत जेनजी युवाहरु समेटिने स्रोतको दाबी छ ।
गुरुङ नेतृत्वमा रहेका जेनजी युवाहरू अहिले आन्तरिक रूपमा संगठन विस्तार र प्रदेश संयोजक तोक्ने काममा व्यस्त छन् ।कतिपय जेनजी युवाहरुले आआफ्नो नेतृत्वमा विभिन्न समूह बनाइरहँदा गुरुङ लगायतको टोली भने वैकल्पिक राजनीतिक शक्तिका लागि विभिन्न पक्षसँग छलफलमासमेत रहेको छ ।